
नेदरल्यान्ड्स अन्तिम खेलमा आयोजक कतारलाई २–० को नतिजामा पराजित गरेसँगै समूह ‘ए’ विजेताको हैसियतमा फिफा विश्वकपको नकआउट चरणमा पुगेको हो। पहिलो खेलमा सेनेगललाई २–० को नतिजामा पराजित गरेको नेदरल्यान्ड्स दोस्रो खेलमा इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको थियो।
तर, मंगलबार राति समूह चरणको अन्तिम खेलमा सहज जितसँगै नेदरल्यान्ड्सले अन्तिम १६ मा स्थान बनायो।

अल बायट रंगशालामा सम्पन्न खेलको २६औं मिनेटमा कोडी गाक्पोको गोलसँगै नेदरल्यान्ड्सले अग्रता लिएको थियो। उनले ड्याभी क्लास्सेनले दिएको पासमा कतारका दुई डिफेन्डरलाई बिट् गर्दै १८ यार्ड बक्सको रेखाबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो। गाक्पोको जारी विश्वकपमा तेस्रो गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा एक गोल थप्यो।
मेम्फिस डेपेले ४९औं मिनेटमा गरेको प्रहारमा कतारी गोलकिपर मिशाल बार्समले रोकेको रिबाउन्ड बललाई ट्याप इन् गर्दै फ्रान्की डी योङले नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।

सन् २०१४ विश्वकपमा तेस्रो भएको नेदरल्यान्ड्स चार वर्षअघि रुसमा भएको विश्वकपमा छनोट हुन सकेको थिएन। अर्कातिर आयोजकको रुपमा पहिलो पटक विश्वकप खेल्ने मौका पाएको कतार भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। समूह ’ए’कै मंगलबार भएको अर्को खेलमा इक्वेडरलाई २–१ को नतिजामा पराजित गर्दै अफ्रिकी टिम सेनेगल पनि अन्तिम १६ मा पुगेको छ।
विश्वपको इतिहासमा पहिलो उद्घाटना खेलमा पराजित हुने पहिलो आयोजक बनेको कतारले समूह चरणका सबै खेलमा हार बेहोर्ने अर्को खराबमा पनि आफ्नो नाम लेखाएको छ।
नेदरल्यान्ड्सले खेलेका ९ वटै विश्वकपमा कम्तिमा अन्तिम १६ सम्मको यात्रा तय गरेको छ। यस्तै समूह चरणम खेलेका पछिल्ला ९ मध्ये आठ खेलमा जित निकाल्न पनि डच टिम सफल भएको छ।
नेदरल्यान्ड्सले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेतासँग खेल्ने छ। समूह ‘बी’मा अमेरिका, इङ्ल्यान्ड, इरान र वेल्स छन्। अन्नपूर्ण पोस्ट बाट सभार
