
अस्ट्रेलियाले एक खेल अगावै इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा जितेको छ। मिचेल स्टार्क र एडम जाम्पाको चार–चार विकेट मद्दतमा अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७२ रनको जित निकाल्दै घरेलु मैदानमा शृंखला निश्चित गरेको हो।
शनिबार सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ८० रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले ३८.५ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय आठ रन मात्रै बनाउन सक्यो।

इङ्ल्यान्डका लागि विकेटकिपर–ब्याटर साम बिलिङ्ग्सले ८० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले। यस्तै, जेम्स भिन्स ७२ बलमा तीन चौका र दुई छक्कासहित ६० रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
पहिलो इनिङमा अस्ट्रेलियाका लागि एक सय १४ बलको सामना गरेका स्मिथले पाँच चौका र एक छक्कासहित ९४ रनको शानदार इनिङ खेलेका थिए।

आदिल राशिदले फालेको ४४औं ओभरको चौथो बलमा फिल साल्टको हातबाट क्याच हुँदा स्मिथ ६ रनले शतक बनाउनबाट चुके। यस्तै, मर्नुस लाबुस्चेनले ५५ बलमा चार चौका र एक छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
अस्ट्रेलियाका लागि ५९ बलको सामना गरेका मिचेल मार्स दुई चौका र दुई छक्कासहित अर्धशतक बनाएर पेभेलियन फर्केका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
इङ्ल्यान्डका लागि राशिदले सर्वाधिक तीन तथा क्रिस वोक्स र डेविड विलीले दुई(दुई विकेट लिए। मोइन अलीले पनि एक विकेट हात पारेका थिए।
बिहीबार भएको पहिलो एकदिवसीयमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो। अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय मंगलबार मेलबर्नमा हुनेछ। अन्नपूर्ण पोस्ट बाट सभार
