सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सूर्यस्नान : जाडोयामको अचुक ओखती

30
Sana Kishan

अहिले मान्छेलाई घाम ताप्ने फुर्सद छैन । फुर्सद हुनेलाई पनि घाम ताप्ने रुचि छैन । घामले छाला बिगार्छ, अनुहार कालो बनाउँछ भन्ने भय र भ्रमले मान्छेहरु घामबाट ओझेलमै रहन खोज्छन् ।

जबकि हाम्रा पूर्खाहरु मस्त घाम ताप्थे । शरीरमा एक पटक भए पनि घामको किरण पर्नुपर्छ भन्ने सोचाइले बिहान उठ्नासाथ घामलाई पूजा गर्थे । तर अहिले हामी घामदेखि डराउन थाल्यौं । नतिजा, अधिकांशको शरीरमा भिटामिन डीको कमी छ ।

Arus

तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ, घामको अनुपस्थितिमा शरीर कति शिथिल र कमजोर हुन्छ । एउटा अँध्यारो कोठामा कुनै पशुपंक्षी मात्र होइन, वनस्पति पनि बाँच्दैन । बिरुवा उम्रिनु, फूल फुल्नु, फल लाग्नु सबैमा घामको किरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । घाम नपर्ने गोठ वा टहरामा राखिएको गाईको दूधमा भिटामिन डीको अभाव हुन्छ । जबकि खुला ठाउँमा चर्ने र बस्ने गाईको दूधमा भिटामिन डी मनग्य हुन्छ ।

शरीरका लागि अत्यावश्यक कुरा हो, भिटामिन डी । यसको मूल स्रोत नै घामको किरण हो ।

घामको चामत्कारिक गुण

सूर्यको किरणमा यस्ता चामत्कारिक गुण हुन्छन्, जसले शरीरमा हुने विभिन्न संक्रमणको प्रभावलाई कम गर्छ । सूर्यको किरणले शरीरमा सेतो रक्तकोषिकाहरु पर्याप्त जम्मा हुन्छ । सेतो रक्ताकोषिकाले रोगप्रतिरोधी क्षमता बढाउँछ र शरीरलाई तन्दुरुस्त राख्छ । घाम भिटामिन डीको महत्वपूर्ण स्रोत हो ।

खासगरी प्रातकालीन घामको किरण कुनै औषधिभन्दा कम हुँदैन । यसले हड्डी र मांसपेशी बलियो बनाउन सहयोग गर्छ । हड्डीको क्यान्सर हुने सम्भावनालाई पनि यसले कम गर्छ । बिहानी घामको किरणले प्रतिरक्षा प्रणालीको हाइपरएक्टिभिटीलाई हटाएर सोरायसिस जस्ता छालासम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ ।

घामले मानसिक स्वास्थ्यमा पनि प्रभाव

जाडोयाममा धेरैजसो मान्छे मानसिक रुपले उदास र निराश हुने चिकित्सा विज्ञानको अध्ययनले देखाएको छ । जाडोयाममा घाम ताप्न नपाइने भएकाले यसबेला धेरैलाई डिप्रेसन हुने गरेको छ । यसलाई ‘विन्टर डिप्रेसन’ भन्ने गरिएको छ ।

यसबाट के प्रष्ट हुन्छ भने मानसिक रुपले तन्दुरुस्त रहन पनि घामको किरण जरुरी हुन्छ । घामको किरणले साइकोसिसको जोखिम कम गर्छ । डिप्रेसन, एन्जाइटी जस्ता मनोविकार हटाउँछ ।

बिहानको कलिलो घाममा मानिसको मन फुरुंग हुन्छ । तर चिसो र ओसिलो याममा हामी उदास हुन्छौं ।

Karnali Traders

निद्रा र पाचनमा सहयोग

घामको किरणले निद्रा र पाचनमा पनि प्रभाव पार्छ । दिनमा मस्त घाम तापेको छ भने राति निद्रा राम्ररी पर्छ । यसैगरी यसले मेटोबोलिज्ममा पनि सुधार गर्छ, जसले गर्दा खानेकुरा पचाउन सहज हुन्छ ।

उच्च रक्तचाप, मधुमेह भएको अवस्थामा घाम ताप्नु अरु लाभदायक हुन्छ । घामले रक्त प्रवाह सुचारु गराउन सहयोग गर्छ ।

कुन समयमा सूर्यस्नान ?

घाम ताप्नका लागि बिहानको घाम बढी प्रभावकारी हुन्छ । खासगरी बिहान ८ देखि ९ बजेसम्मको घाम ताप्नुपर्छ । यसैगरी अपरान्ह चार बजेपछिको घाम ताप्नु पनि लाभदायक हुन्छ । घाममा कम्तीमा १० मिनेटसम्म बस्नुपर्छ ।

यद्यपि घामको ताप भूगोल र ठाउँअनुसार केही फरक हुने भएकाले समय र अवधिमा केही तलमाथि हुनसक्छ ।

जसले अनिवार्य ताप्नैपर्छ

बालबच्चाका लागि घाम एकदमै अपरिहार्य छ । शिशुलाई घामको तापमा मालिस गरिदिनुपर्छ । यसैगरी सुत्केरी र बुढापाकालाई पनि घाम जरुरी हुन्छ ।

आयुर्वेदअनुसार घाममा बस्नु एक घण्टाअघि र पछिको समयमा कुनै गह्रौं भोजन नगर्नु राम्रो हो ।

सावधानी पनि

चर्को वा मध्यान्हको घाममा लामो समय बसेमा भने समस्या आउन सक्छ । यसले खासगरी छालालाई नराम्रो असर गर्नसक्छ । कतिपय छालाको क्यान्सर हुनुमा पनि घामको विकिरणलाई मूल कारक मानिएको छ । त्यसैले चर्को घाममा शरीर खुला राखेर लामो समय बस्नु उचित हुँदैन । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.