हामीले खाएको खानाबाट पाचनयन्त्रले शरीरलाई आवश्यक पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हामीलाई तन्दुरुस्त राख्न सहयोग गर्छ । तर खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । खाना राम्ररी पचेन भने यसको सोझो असर पाचन प्रक्रियामा पर्छ । त्यही कारणले पेटसम्बन्धी रोगले सताउँछ ।
खाना खाएपछि पाचनयन्त्रले कसरी काम गर्छ ?
हामीले मुखमा राखेको खानालाई दाँतले टुक्राउने र मसिनो बनाउने गर्छ । चपाएको खानालाई ¥यालले रसिलो बनाइदिन्छ । खाना चपाए। रसिलो र नरम भएपछि त्यो खाना हामी निल्छौं ।
आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ र त्यसमा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गरिदिन्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउने काम गर्छ । यसरी पाचनयन्त्रले खाएको खाना पचाउने काम गर्ने योग तथा आयुर्वेद विज्ञ डा. हरिप्रसाद पोखरेल बताउँछन् ।
शरीरलाई आराम कि सक्रियता ?
पाचन प्रक्रियाको लागि शरीरलाई आराम चाहिंदैन । खाना खाने बित्तिकै सुत्न तथा आराम गर्नु हुँदैन । खाना खाएपछि २०० पाइला हिंड्नुपर्छ भनिन्छ । खाना खानेबित्तिकै सुतियो भने पाचन प्रणालीले आफ्नो काम ढिलो गर्छ । जसले गर्दा खाना राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या देखा पर्न सक्ने पोखरेल बताउँछन् ।
खाएको खाना राम्रोसँग पच्न शरीर सक्रिय हुनुपर्छ । हामीले खाएको खाना पच्न आधा घण्टादेखि चार घण्टासम्म लाग्छ । त्यसैले खाना खाने बित्तिकै आराम गर्नु वा सुत्न नहुने ग्यास्ट्रोलोजिस्ट एवं जनरल फिजिसियन डा. अवशेष भण्डारी सुझाउँछन् ।
‘खाना खाएलगत्तै सुत्ने आराम गर्ने गर्दा पाचन प्रणालीले आफ्नो काम समयमा गर्न पाउँदैन र पाचन प्रणाली ढिलो हुन्छ,’ उनी भन्छन् ।
खानालाई कसरी सुपाच्य बनाउने ?
हामीले खाना खाएपछि सबैभन्दा पहिले त त्यसलाई चपाउँछौ । खाएको खाना पच्न सबैभन्दा पहिलो प्रक्रिया हो यो । स्वास्थ्यको पूर्वीय मान्यता अनुसार ‘ठोसलाई पिऊ तरललाई चपाऊ’ भनिने पोखरेल बताउँछन् ।
‘यसको मतलब ठोस कुरा पनि यसरी चपाएर खाने कि लेदो बनेर पेटमा जाओस् र तरललाई पनि घटघट नपिउने मुखमा राखेर बिस्तारै त्यसको आनन्द लिएर पिउनुपर्छ जसले गर्दा हामीले खाएको खाना सहज रूपमा पच्छ,’ उनी भन्छन् ।
उनका अनुसार हाम्रो मुखमा निस्किने पाचन रस क्षयरीय गुणयुक्त हुन्छ र आमाशयमा निस्कने रस भने अम्लीय गुणले भरिएको हुन्छ । क्षयरीय गुणयुक्त रस मिसिएर खाना पेटमा गयो भने अति अम्लताको समस्या नहुने र खाना राम्रोसँग पच्छ ।
खाना खाने बेलामा पानी पिउनु पनि उचित नभएको पोखरेल बताउँछन् । ‘पानीले पाचन रसलाई पातलो बनाइदिन्छ र जसले गर्दा खाना पचाउने क्षमता कमजोर हुन्छ,’ उनी भन्छन् ।
खाएको खाना सहज र राम्ररी पच्न खाना खाने समय पनि निश्चित हुनुपर्छ ।
पाचनयन्त्र चुस्त कसरी बनाउने ?
पाचनयन्त्र सुधार्ने सरल र प्राकृतिक उपाय हो, सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्नु । त्यसैले सम्पूर्ण शरीरलाई स्वस्थ राख्न प्राकृतिक खानेकुरा खानुपर्छ । पाचनयन्त्रलाई चुस्त राख्न रेसा बोक्रा युक्त खानेकुरा खानुपर्ने पोखरेल बताउँछन् ।
‘मैदा, सेतो चामल जस्ता रिफाइन्ड खाना खानु हुँदैन । कारखानामा बनेको प्याकेट फुड र होटेलको फास्टफुड जस्ता खाना खानुहुँदैन । पाचनयन्त्र चुस्त बनाउन घरमा बनेको खाना, सागपात र फलफूल प्रशस्त मात्रामा खानुपर्छ,’ पोखरेल भन्छन् ।
हाम्रो पाचन प्रणालीलाई चुस्त राख्न राम्रो ब्याक्टेरियाको भूमिका हुन्छ । त्यसैले शरीरमा राम्रो ब्याक्टेरियालाई कायम राख्न घरमा बनेको राख्न दही, गुन्द्रुक, मस्यौरा जस्ता खानेकुरा खानुपर्छ । जसले भोजन पचाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।
साथै यी ब्याक्टेरियाले हर्मोनको सन्तुलन कायम राख्ने, विषादी बाहिर निकाल्ने तथा भिटामिन लगायतका अन्य हिलिङ तत्त्वको निर्माणमा सहायता प्रदान गर्छ । जसले गर्दा शरीरको पाचन प्रक्रिया स्वस्थ रहने उनी भन्छन् ।
खाना खाने बेलामा पानी खानु हुँदैन । तर खाना खाएको केही समयपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ, यसले पाचन प्रणाली राम्रो हुने डा. अवशेष भण्डारी बताउँछन् ।
तनाव लिइरह्यो भने पनि पाचन प्रक्रिया राम्रो हुँदैन । धेरै तनाव लिइरहने व्यक्तिको पाचन प्रणालीले राम्ररी काम गर्दैन । जसले गर्दा खाएको खाना राम्ररी पच्दैन र कब्जियत तथा अपच हुने सम्भावना हुन्छ । त्यसैले कम तनाव लिनुपर्छ यसले पनि पाचन प्रणाली चुस्त हुने डा. भण्डारी बताउँछन् ।
‘खानामा फाइबर, प्रोटिन कार्बोहाइड्रेट सबै कुराको मात्रा मिलेको हुनुपर्छ । जसले गर्दा पाचन यन्त्रलाई पनि त्यो पचाउन सहज हुन्छ,’ उनी भन्छन् ।
कस्तो खाना खाने र खाना खाएपछि के गर्ने भन्ने कुराले पाचनयन्त्रको काम निर्धारण गर्छ । त्यसैले खाना खाने बित्तिकै सुतिहाल्नु हुँदैन यसले पाचनयन्त्रको कामलाई ढिलो गरिदिन्छ । बेलुकाको खाना ७ बजे भन्दा अगाडि नै खानुपर्ने उनी सुझाउँछन् । बेलुकाको खाना छिटो खाएमा सुत्ने बेलासम्म त्यो पच्छ र पाचन प्रक्रिया पनि राम्रो हुने भण्डारी बताउँछन् । सुमित्रा लुइटेलले अनलाइनखबरमा लेखेकी छन्।