सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौंका मेयर बालेन शाहले यसरी सम्झिए आफ्नो कार्यकालका १ सय दिन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सय दिनमा गरिएका काम सम्झँदै छ सन्दर्भ सार्वजनिक गरेका छन्।

उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्। उनले ‘मनमा छोएका’ केही सन्दर्भ सम्झनलायक रहेको भन्दै ६ सन्दर्भ उल्लेख गरेका हुन्।

जसमा फुटपाथमा मकैको ठेला हटाएको, इ–स्पोर्टसका लागि बजेट बिनियोजन, यमबुद्धको सालिक, नर्भिकका संरचना हटाउने कार्यलगायत छन्।

World Link Ads
Mahakali Polytechnic

उनले आफूले आफैँ आफ्ना काम मूल्याङ्कन गर्नुभन्दा पनि आममानिसले कसरी हेरिरहेका छन् भन्ने बढी अर्थपूर्ण हुने बताएका छन्।

Dirghayu Ads

‘मानिसहरुमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुश भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ। अन्यथा, हामीले यतिका कामहरु गर्यौं भनेर सूचि बनाउँदैमा हामी सफल हुन सक्दैनौँ,’ उनले भनेका छन्।

यस्तो छ बालेनको भनाइः

सन्दर्भ कार्यकाल १०० दिन पुगेको बारेमा हो। हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैँले मूल्यांकन गर्नेभन्दा पनि आममानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुन्छ। हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौं, त्यसले आममानिसमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ।

मानिसहरुमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुश भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ। अन्यथा, हामीले यतिका काम गर्यौं भनेर सूचि बनाउँदैमा हामी सफल हुन सक्दैनौँ। यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ।

१. फुटपाथबाट मकैको ठेला हटाएकोः

यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ। तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न। फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो। शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ।

महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो। दिएको ठाउँ पनि भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो। यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैँछ।

यदी हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो। यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला। हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ। हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यही गर्यौं। जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ।

२. Esports का लागि १ करोडः

Sana Kishan

गीत गाउने, नाच्ने जस्ता कलाकारप्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो। त्यसमा पनि महिला कलाकारका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढी थिए। तर अहिले अवस्था फेरिएको छ।

यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ। यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो। त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ। इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ। त्यसमा हामी तयार हुने कि नहुने? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने? यो प्रश्न प्रमुख थियो।

हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ। बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले। इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला। त्यो दिन पर्खौं।

३. यमबुद्धको सालिकः

एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो। बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ विधा हो। यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो। आफू त्यो विधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो।

बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो। तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो। आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौं। यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ।

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तनः

मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ। म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु। यी हरेक भुमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनु पर्ने पनि हुनसक्छ। माहौलले पनि फरक पार्न सक्छ। कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु। यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु। सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु।

५. फोहोर व्यवस्थापनमा ढिलाइः

यसमा के स्वीकार्नु पर्दछ भने १०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन। तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ। यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दीगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ।

६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमाः

जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनुपर्छ। हामीले चाहेको यति मात्रै हो। कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ। यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ। आममानिसको आवाज हामीले सम्बन्धित ठाउँसम्म पु¥याउने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ। सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यहि हो।

अन्त्यमा हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन्। हामी अझै केही समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ। विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ। उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.