
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरहरु सभ्यता र विकासको केन्द्र भएको दाबी गरेका छन् । कतिपयले विरोध गरेको भएपनि भ्यूटावर स्वदेशी र विदेशका पर्यटक आकर्षित गर्ने उपयुक्त स्थल भएको दावी गरे ।
एमालेसम्वद्ध सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा ओलीले मलेसियाका प्रधानमन्त्री महाथिरले ट्वीन टावर बनाउँदा पागल भनेको, तर अहिले त्यही टावर मलेसियाको पहिचान बनेको बताए ।

अमेरिकाको ट्वीन टावर बनाउँदा पनि कतिपयले अनावश्यक भनेको भन्दै उनले त्यस्ता स्थल सभ्यता, विकास र आर्थिक कृयाकलापको केन्द्र भएको दावी गरे ।
आइतबार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्यूटावरहरु आवश्यक नभएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले भ्यूटावर बनाउँदैनौं भनेर घोषणापत्रमा नै लेख्नुपर्ने बताएका थिए । त्यसपछि टिप्पणी गर्दै ओलीले भने, ‘उहाँको पार्टीले त विकास निर्माण नगर्ने प्रतिज्ञा नै गरेको छ नि !’

धरहरा पुनर्निर्माण हुँदा कतिपयको मन भतभत पोलेको भन्दै ओलीले त्यहाँ भात खान पाइन्छ, गहुँ फल्छ ? भन्ने प्रश्न गर्ने गरेको टिप्पणी गरे । उनले भने, ‘धरहरा हाम्रो इतिहास हो, हाम्रो पहिचान हो । धरहरा हेर्दा हामीलाई गर्वको महसुस हुन्छ ।’
सबै काम उत्पादनमूलक मात्रै नहुने भन्दै ओलीले जीवनका अनेक रंग हुने बताए । त्यसो भन्नेले संगीत सुन्छन् कि सुन्दैनन्, नाटक हेर्छन् कि हेर्दैनन्, चित्र बनाउन मन लाग्छ कि लाग्दैन, वाद्य वादन बजाउन मन लाग्छ कि लाग्दैन ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले सामाजिक सेवा केन्द्र केन्द्रको संयोजक उद्योगी मोति दुगडलाई तोकेका छन् ।
(चैत २० गते onlinekhabar.com मा प्रकासित छ ।)
