बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको बताएका छन्।
बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको चौथो दिन बुधबार आयोजित दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तसंवाद कार्यक्रममा बोल्दै मन्त्री हुमागाईंले यस्तो बताएका हुन्।
उनले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषिलाई व्यवस्थित गर्दै कृषकको विकासका लागि लागिपरेको बताए। मन्त्री हुमागाईंले पहुँचको आधारमा सरकारले अनुदान नदिने भन्दै प्रदेश सरकारले वास्तविक किसानसम्म अनुदान पु¥याउने समेत बताए।
उनले सहज ढंगले किसानले अनुदान, सहुलियतपूर्ण ऋण पाउने व्यवस्था मिलाउने भन्दै किसानको हक अधिकारका लागि आफू सदैव तत्पर रहेको बताए। किसानहरूले पाउनुपर्ने दूधको मूल्यको भुक्तानीका लागि आफूले पहल गर्ने मन्त्री हुमागाईंले बताए।
कार्यक्रममा किसानले गाईवस्तुलाई खुवाउने खाद्यान्नको मूल्य आकाशिदा दूधको मूल्य थोरै मात्रै बढेको र बढेको मूल्य पनि किसानभन्दा धेरै बिचौलियालाई पोस्न खोजिएको गुनासो गरेका थिए।
किसानले दूध बेचेको ४ महिनासम्म मूल्य नपाएकोमा उनीहरूको दुखेसो थियो। कार्यक्रममा रेडियो थाहासञ्चारका प्रबन्धक अरुणराज सुमार्गीले किसान बलियो भए मात्रै देशको अर्थतन्त्र बलियो हुने भन्दै कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए।
उनले बागमती प्रदेशका १३ वटै जिल्लामा कृषि उत्पादन औजार उत्पादन गरेर कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए।
मनकामना दुग्ध उत्पादक सहकारी संस्था प्रालिका अध्यक्ष अर्जुन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष वासुदेव अधिकारी, गढी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे, श्रमिक साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष निर्मला लम्साल, वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघका अध्यक्ष रोमलाल गिरी र उपाध्यक्ष तथा सय किसान अभियानका अभियन्ता राजेन्द्र खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
रेडियोले कार्यक्रमको पाँचौं दिन बिहीबार सडक दुर्घटना न्यूनीकरण नहुनुमा जिम्मेवारी कसको भन्ने विषयमा मा.वि स्तरीय वक्तृत्वकला कार्यक्रम गर्ने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए। ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरसंवाद हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुनेछ। थाहा खबर बाट सभार









Discussion about this post