ओखलढुंगा ३१ भदौ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका १ का वडाध्यक्षले बर्थिङ्ग सेन्टरको सेन्टरका लागि खरिद गरिएको सोलार आफ्नै घरमा जोडेको पाईएको छ ।
सुनकोशी गाउँपालिका १ का वडाध्यक्ष दिपहरी राईले स्वास्थ्य चौकीको सोलार घरमा लगेर प्रयोग गरेका हुन् ।
ईलाका स्वस्थ्य चौकी बलखुको बर्थिङ्ग सेन्टरको सोलार प्यानल वडाध्यक्षले निजी प्रयोग गरिरहेको पाईएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले स्वास्थ्य संस्थामा नयाँ सोलार जडान गरेपछि पुरानो सोलार वडाध्यक्षले घरमा लगेर प्रयोग गरेका हुन् ।
‘बर्थिङ्ग सेन्टरको मर्मतका क्रममा तार छुटाएर राखिएको सोलार जोड्न बाँकी थियो’, स्वास्थ्य चौकीका प्रमुख बरुण झाले भने, ‘स्वास्थ्य चौकीको छानोबाट निकालेर वडाध्यक्षले घर लानुभयो ।
नलानु पछि विरोध होला भन्दा मेरो कुरालाई सामान्य लिनुभयो ।’
उक्त सोलार विगत लामो समयदेखि चौकी र वर्थिङ सेन्टरमा वत्ति बाल्नका लागि प्रयोग गरिएको थियो ।
स्वास्थ्य चौकी अन्तर्गत सुरक्षित सुत्केरी केन्द्रमा प्रयोग गरिँदै आएको २ सय वाटको सोलार राईले करिब तीन महिना अघि आफ्नो घरमा लगेर प्रयोग गरेको स्वास्थ्य चौकीका एक कर्मचारीले बताए ।
स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरको सोलार आफुले लगेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दिपहरी राईले स्विकारेका छन् ।
घरमा रहेको सोलारको ब्याट्री ‘लो’ भएकोले चार्ज गर्न स्वास्थ्य चौकीको सोलार लगेको उनले बताए । ‘घरको सोलारको ब्याट्रि उठाउन ल्याएको हुँ, म फर्काउछु,’ उनले भने्, ‘फर्काउने गरि ल्याएको हुँ, फर्काउन ढिलो भएको मात्र हो ।’ यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।