विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको छ ।
भारतले दिएको ३ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाउँदा पानी प¥यो र खेल रोकियो । पानी नरोकिएपछि डकवर्थ लुइस नियमका आधारमा भारत ८९ रनले विजयी बन्यो ।
टस जितेपछि पाकिस्तानका कप्तान/विकेटकिपर सर्फराज अहमदले पहिला भारतलाई ब्याटिङको निम्तो दिए । जबकि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले निरन्तर ट्विट गर्दै टस जितेमा पहिले ब्याटिङ रोज्न आफ्नो टिमलाई सल्लाह दिइरहेका थिए ।
आखिर सन् १९९२ को क्रिकेट विश्वकप उपाधी जितेको पाकिस्तानी टोलीको नेतृत्व गरेका पूर्वकप्तान तथा प्रधानमन्त्री खानको सुझाव किन मानेनन् सर्फराजले ? के यही नै पाकिस्तानी हारको कारण थियो ? यतिखेर यो बहसले चर्चा पाएको छ ।

पिच नरम नभएको अवस्थामा पहिला ब्याटिङ गर्नु उपयुक्त हुने सुझाव इमरानको थियो । यस्तोमा पहिले एउटा राम्रो लक्ष्य खडा गरेपछि प्रतिद्वन्द्वीलाई अंकुश लगाउन सजिलो हुने इमरानले बताएका थिए ।
