विश्वकप रोचक
विश्वकप क्रिकेटको १०औं संस्करणको फाइनल खेल आयोजक भारत र श्रीलंकाबीच भएको थियो। उक्त विश्वकपको फाइनलमा टसको विषयलाई लिएर रमाइलो घटना भएको थियो। मुम्बईस्थित वानखेड स्टेडियममा टसका लागि भारतका कप्तान महेन्द्रसिंह धोनी र श्रीलंकाका कप्तान कुमार सांगाकारासँगै म्याच रेफ्री जेफ क्रो र कमेन्टेटर रवि शास्त्री पनि मैदानमा उपस्थित भए।

टसका लागि सिक्का पनि हावामा फालियो। त्यसपछि श्रीलंकाका कप्तान सांगाकाराले टस आफूले जितेको बताए। अर्कोतिर भारतका कप्तान धोनीले पनि टस आफूले जितेको दाबी गरे। सोही विषयमा विवाद भयो। म्याच रेफ्री क्रो र कमेन्टेटर शास्त्रीले भने टसअघि सांगाकाराले भनेको कुरा आफूहरूले नसुनेको बताए। केही समयको विवादपछि सबैको सहमतिमा पुन : टस गर्ने निर्णय लिइयो। दोस्रो पटक टस हुँदा पनि सांगाकाराले ‘हेड’ र ‘टेल’ मध्ये ‘हेड’ नै रोजे।
दोस्रो पटकको टसको नतिजा पनि सांगाकाराकै पक्षमा गयो। त्यसपछि श्रीलंकाले पहिले ब्याटिङको निर्णय लियो। अन्तत : फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै दोस्रो पटक विश्वकप उपाधि उचाल्यो।
