सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टिचिङमा कलेजो प्रत्यारोपण

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले भारतको एपोलो अस्पतालका चिकित्सकको सहयोगमा काठमाडौंका ५८ वर्षीय पुरुषमा शुक्रबार राति कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषमा उनकै ३३ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण गर्न १० घन्टा लागेको थियो। शल्यक्रियामार्फत कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। कलेजो बिग्रिएपछि उनलाई लिभर सिरोसिस भएको थियो। अस्पतालका अनुसार परिवारको आग्रहमा बिरामी र उनलाई कलेजो दिने छोरीको नाम गोप्य राखिएको छ।

कलेजोले नियमित काम गर्न नसकेपछि अर्कैको खोजेर प्रत्यारोपण गर्नुपर्छ। चिकित्सकका अनुसार स्वस्थ व्यक्तिको कलेजाको केही भाग झिकेर बिरामीमा प्रत्यारोपण गरेपछि बिस्तारै कलेजो विकसित भएर जान्छ। यसलाई कलेजो प्रत्यारोपण भनिन्छ। बिरामीमा कलेजो प्रत्यारोपणका लागि तीन साताअघिदेखि उपचार प्रक्रिया सुरु गरिएको थियो।

टिचिङ अस्पतालका डा. भण्डारीको नेतृत्वमा डा. पलेस्वाँ जोशी, डा. सुमिता, डा. विष्णुलगायत एमसिएच कार्यक्रमका सदस्य तथा भारतका एपोलो अस्पतालका डा. निरभ गोयल, डा. अनिल, डा. अमित, डा. पंकजसहित आठजनाले कलेजो प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपण सफल भएपछि डा. भण्डारीले सहयोग पु¥याउने अस्पतालका रेडियोलोजी, आइसियु, प्याथोलोजी, प्रशासन, ग्यास्ट्रोलोजी विभागका सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। त्यसैगरी उनले प्रत्यारोपणका लागि कानुनी तथा अन्य आर्थिक सहयोग गर्ने पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई पनि धन्यवाद दिएका छन्। जुनसुकै अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्दा विज्ञसमूहको परामर्श र सहयोग लिनुपर्ने नियमअनुसार भारतस्थित एपोलो अस्पतालका अनुभवी चिकित्सकलाई बोलाइएको डा. भण्डारीले बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

टिचिङमा कलेजो प्रत्यारोपण सेवा सुरु भएसँगै अब यसका लागि विदेश जानुपर्ने बाध्यता हटेको अस्पतालको दाबी छ।
कलेजो प्रत्यारोपणपछि बिरामीलाई १० देखि १४ दिनसम्म आइसियुमा राखेर उपचार गर्नुपर्छ। कलेजो दातालाई भने तीन दिनपछि अर्थात् आइतबार डिस्चार्ज गरिनेछ। यो सफलताले थप बिरामीमा प्रत्यारोपण गर्न सकिने आधार देखाएको डा. भण्डारीले बताए। टिचिङमा यो कलेजो प्रत्यारोपण सेवा सुरु गर्न डा. भण्डारीले विगत १० वर्षदेखि सपना बुनेका थिए। त्यही सपना पूरा गर्न तालिम लिन उनी अस्टे«लिया तथा भारतका विभिन्न अस्पतालमा पटक–पटक पुगेका थिए।

Dirghayu Ads

टिचिङमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्न सन् २०१४ देखि संरचनागत, उपकरण, भौतिक संरचना, अंगदान तथा प्रत्यारोपण अनुमतिका लागि प्रक्रिया सुरु गरिएको थियो। लगातार १० वर्षको प्रयासपछि कलेजो प्रत्यारोपण सम्भव भएको हो। चार वर्षअघि धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा पनि विदेशी चिकित्सकको सहयोगमा तीनजनामा कलेजो प्रत्यारोपण गरिएको थियो। योसहित नेपालका दुई सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ। सरकारले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स भरतपुरलाई पनि कलेजो प्रत्यारोपण गर्न अनुमति दिएको छ।

टिचिङमा कलेजो प्रत्यारोपण सेवा सुरु भएसँगै अब यसका लागि विदेश जानुपर्ने बाध्यता हटेको अस्पतालको दाबी छ। ‘अब हामी नियमित रूपमै अघि बढ्छौं,’ डा. भण्डारीले भने। कलेजो प्रत्यारोपणका लागि भारत तथा थाइल्यान्ड जानुपर्ने अवस्थामा टिचिङले यस कार्यमा सफलता प्राप्त गरेको हो। कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँजति खर्च लाग्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.