सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डा. अरुणा उप्रेती भन्छिन्- जन्मदिन मनाउने केकसँगै काटिँदैछ हाम्रो धर्म संस्कृति

केही समययता हामी नेपालीमा ‘केक’ मोह निकै धेरै देखिएको छ। सर्वसाधारण, फिल्मकर्मी र नेतासम्मले आफ्ना अवसरहरू केकले रंगाएको देखिन्छ।

केही दिनअघि नयाँ शक्ति पार्टीले झन्डै ९१ किलोको बडेमान केक काटेर आफ्नो वार्षिकोत्सव मनाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेटमा सफलता हासिल गरेको बधाइ दिन कप्तान पारस खड्का र उनको समूहलाई केक नै खुवाए।

World Link Ads
Mahakali Polytechnic

यता सामाजिक सञ्जालमा छाएका तस्बिर हेर्दा लाग्छ, केक कतै टुट्दैन, हामी केकमय भयौं।

Dirghayu Ads

एक वर्षे बच्चादेखि हजुरआमा–हजुरबासम्मको जन्मदिनमा केक काट्दै खाइरहेका तस्बिर देखिन्छन्। संस्थाको वार्षिकोत्सव होस्, वा अरू केही सफलता, केक नै हुन्छ। अचेल त आमा–बुबाको मुख हेर्ने दिनमा पनि केक नै देखिन्छ।

केक र नेपाली उत्सव पर्यायवाची बनेका छन्।

केटाकेटीलाई त जन्मदिन भनेकै केक काट्ने भन्ने परेको छ। ठूला मान्छे पनि त्यही मनस्थितिमा छन्।

तर, हामीले कहिल्यै विचार गरेका छौं, केक काट्ने चलन फैलाएसँगै हामी के भुल्दैछौं?

समाजको नेतृत्व गर्ने नेताहरूले कस्तो बाटो देखाउँदैछन्?

हाम्रो परम्परा र संस्कृतिले जन्मदिन वा उत्सवमा गर्न सिकाएका विधि र खानेकुरा हराएको हामी वेवास्ता गर्दैछौं।

समयसँगै राम्रा परम्परा धानेर राख्नुपर्ने अवस्थामा नेपाली संस्कृति बिर्सेका छौं। अन्य देशको संस्कृति देखासिकी गरेर केक काट्न थालेका छौं।

केक संस्कृति आत्मसात गर्नेहरू नै ‘नेपालको हजारौं वर्षको संस्कृति यस्तो राम्रो छ, हाम्रो संस्कृति प्रति गर्व गर्छौं, पर्यटकलाई आफ्ना संस्कृतिबारे बताएर आकर्षण गर्न सक्छौं, यसको जगेर्ना गर्नुपर्छ’ लगायत भन्दै लामो भाषण दिन्छन्।

तर उनीहरूले बिर्सन्छन् कि लामो कुराले मात्र संस्कृति जोगिइँदैन, फैलिदैन, पहिचान हुँदैन।

संस्कृति फलाउन–फूलाउन व्यवहारिक रुपमा पनि अवलम्बन हुनुपर्छ। नेतृत्वमा बसेकाले उदाहरण दिनुपर्छ। समाजलाई सिकाउनुपर्छ।

संस्कृतिबारे अध्ययन गरिएका किताबलाई सकेसम्म धेरैले पढून् र व्यवहारमा उतारून् भनेर प्रेरित गर्नुपर्छ।

हामीकहाँ भने स्थिति उल्टो छ। बाहिरी संस्कृति यति हावी छ, आफ्नो संस्कृति नयाँ पुस्ताले बिर्सिन थालिसक्यो। विदेशी संस्कृति अपनाउनै हुन्न भन्ने होइन, तर त्यसमै बिलीन भएर आफ्नो पहिचान नै मासेर त्यसलाई बढावा दिनू भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो।

केकरुपी अवसरले हाम्रो संस्कृतिको पहिचानमा मात्र होइन, स्वास्थ्यमा पनि धक्का दिइरहेको छ। विशेषगरी हाम्रा स–साना नानीबाबू जसले हाम्रो पहिचान धानेका छन्।

Sana Kishan

विदेशमा बन्ने केकबारे म पुष्टि गर्न सक्दिनँ। तर, नेपालमा बन्ने धेरै केक अस्वस्थ्यकर छन्। धेरै चिनी र वनस्पति घ्यूले भरिएको केक हाम्रा नानीबाबूले खाइरहेका हुन्छन्। उनीहरूको घरमा पनि केक नै काटिन्छ, कतिपय स्कुलले पनि त्यही गरिदिन्छन्।

यसले उनीहरूलाई के सिकाउँदैछ? जन्मदिनमा हामी के आर्शीवाद दिदैछौं?

‘तिमीहरूको मुटु खराब होस्। चिनी धेरै खाँदा हुने रोग लागोस्।’

अनि,

‘तिमीहरूको मौलिक संस्कृति बिर्स। जन्मदिनमा मैनबत्ती निभाएर जीवन अँध्यारो बनाउने कला सिक।’

हामीले मनले यी कुरा नभने पनि व्यवहारले यही सिकाउँछ।

केक त मात्र एउटा प्रतिक हो, जसले हामी कसरी आयातित खराब संस्कृतिको शिकार भइरहेका छौं। हरेक संस्कृतिका राम्रा र खराब पक्ष हुन्छन्। हाम्रा पनि धेरै खराब पक्ष छन् जो हटाउनू छ।

विदेशीका पनि धेरै राम्रा संस्कृति छन् जो अवलम्बन गर्न सकिन्छ। तर हामी यसमा भने पछाडि छौं।

हाम्रो संस्कृतिमा जन्मदिनमा घरआँगन र मन्दिरमा दियो बाल्ने चलन छ। अचेल हामी केकमा मैनबत्ती बाल्ने अनि निभाउने संस्कृतिमा भिजेका छौं।
हाम्रो आफ्नो चलन मास्दै छौं। योसँगै जीवनका सुन्दर पक्ष पनि नष्ट पार्दैछौं।

यस्तै हो भने केही वर्ष सायद हाम्रा संस्कृति किताबमा मात्र सिमित हुनेछन्।

ती किताबमा सायद लेखिनेछ, ‘पहिले पहिले नेपालमा जन्मदिन मनाउँदा मालपुवा, खीर, हलुवा बनाएर ख्वाउने अचम्मको चलन थियो। धर्म र जातजातिअनुसार कसैले सेवइ खान्थे, खुवाउँथे, मन्दिरमा चढाउँथे त कसैले अन्डा सगुन दिन्थे। कसैले पूजा लाउँथे, कोही प्रार्थना गर्थे। यी परिकार घरमै पकाउने चलन थियो।’

केक काट्ने संस्कृति यति व्यापक हुँदैछ कि, अबका केही वर्षमा हाम्रा सबैजसो उत्सव र चाडपर्वमा केक नभइ नहुने चलन बस्ने संकेत देखिँदैछ।

बच्चाको ‘भात खुवाइ’ होइन ‘केक खुवाइ’ हुन बेर लाउँदैन। दाल, भात, तरकारीको स्वाद बिर्सिएर, ‘केक’ नै नेपाली खाना बन्न सक्छ। विवाह, व्रतबन्धमा थरिथरिका केक काट्ने चलन नबस्ला भन्न सकिन्न।

अक्षय तृतीयामा सातु र शर्बतको साटो केक र चिसो पेय पदार्थ, योमरी पूर्णिमामा केक हालेको योमरी हुन बेर छैन। त्योबेला केक योमरीको स्वाद लिदैं केटाकेटीले सायद भन्दा हुन्, ‘थाहा छ, पहिले–पहिले योमरीमा चाकु हुन्थ्यो रे! कस्तो होला है चाकु?’

सुन्दा अचम्म लाग्ला, तर केक संस्कृति पक्डिन जसरी हामी दौडिरहेका छौं, त्यो गतिले यी दिन पर छन् भन्ने लाग्दैन।

केक नकाटौं भनेको होइन, स्वस्थकर केक खाऔं, आफ्नो संस्कृति नभुलौं!

सेतोपाटीबाट (लगभग एक बर्ष पहिले प्रकाशितलेख)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.