भारतमा हुन लागेको सुटिङको विश्वकप रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निर्देशन दिएको छ ।
भारतले पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि यस्तो निर्देशन दिएको हो । आईओसीले भारतीय सरकारले लिखित रुपमा भिसा दिने विषयमा आश्वासन नदिँदासम्म भारतमा हुने कुनै पनि ओलम्पिकसँग सम्बन्धित प्रतियोगिताहरु आयोजना गर्न पनि रोक लगाएको छ ।
स्विट्जरल्याण्डमा बसेको ओलम्पिक कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । भारतमा हुन लागेको सुटिङमा पाकिस्तानका दुई जना खेलाडी सहभागी हुने तय भएको थियो । जीएम बशीर र खलील अहमद २५ मिटर र्यापिड फायर इभेन्टमा भाग लिनका लागि आउन खोज्दा पाकिस्तानी खेलाडी भएकै कारण भारतले भिसा दिन अस्वीकार गरेको थियो ।
भारतीय कदमविरुद्ध नेशनल राइफल एसोसिएशन अफ पाकिस्तानले आईओसीमा उजुरी गरेको थियो । जम्मू-कश्मीरको पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मी मारिएपछि आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारतले लगाउँदै आएको छ । जसका कारण अहिले भारतले पाकिस्तानसँगका सबै सम्बन्ध तोड्नुपर्ने आवाज उठिरहेकाे छ ।
आईओसीले आयोजक देशमा आउने कुनै पनि खेलाडीलाई राजनीतिक हस्तक्षेपबिना निष्पक्ष र समान व्यवहारका साथ प्रतियोगितामा सहभागी हुन मौका दिनुपर्ने बताएकाे छ ।
यो काम आईओसीको आचारसंहिताविरुद्ध भएकाले आउँदा प्रतियोगितामा पनि गम्भीर असर पर्ने चेतावनी दिएको छ । योसँगै अन्तर्राष्ट्रिय सुटिङ फेडरेशनले विश्वकपका लागि ओलम्पिकको कोटा पनि हटाएको छ ।
जसको प्रत्यक्ष घाटा भारतलाई नै भएको छ । १६ वटा कोटामध्ये १४ वटा कोटा भारतलाई मिल्ने तय भएको थियो । योसँगै भारतीय खेलाडीलाई पनि ठूलै झट्का लागेको छ ।