कैलाली – महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको क्वालिफायर्समा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो एलिमिनेटरमा रुपन्देहीलाई एक रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा प्रवेश गरेको हाे ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १५ बनायो । उसले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएकाे थियाे ।
उसका दिलीप नाथले खाता खोल्न पाएनन् । त्यसपछि २४ रनमा दोस्रो विकेट गुमाएको महेन्द्रनगरले ४० रन बनाउदा तेस्रो विकेट खेर फाल्यो । उसका मोहम्मद नाभिद १८ रनमा आउट भए भने सुब्रमनियम आनन्द २० रनमा पेभेलियन फर्किए ।
एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ६१ रन बनाउँदा ६ विकेट खेर फाल्यो । आरिफ शेख ११, रोहित पौडेल दुई रनमा आउट भए भने सिद्धान्त लोहनीले खाता खोल्न सकेनन् ।
त्यसपछि सातौं विकेटका लागि कप्तान शरद भेषावकर र अमरसिंह रौटेलाले ३९ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । तर रौटेला १९ रनमा आउट हुँदा महेन्द्रनगरको स्कोरबोर्डमा एक सय रन पुगेको थियो ।
अन्तिममा अविनाश बोहराले ११ रन जोडे भने कप्तान शरद भेषावकर २९ रनमा अविजित रहे । बलिङमा ललित भण्डारीले चार पुनीत मेहराले तीन र बसन्त रेग्मी दुई विकेट लिए ।
जवाफमा रुपन्देहीले २० ओभरमा एक सय १४ रनमा रोकियो । मध्यम सुरुवात गरेको रुपन्देहीले २६ रनमा पहिलो विकेट गुमायो भने ५२ रनमा दोस्रो विकेट खेर फाल्यो ।
उसका ओपनर सन्दिप सुनार १४ रनमा आउट भए भने बाबर हायात २८ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै सुमित महर्जन पनि बाहिरिएपछि रुपन्देहीले ५६ रनमा तेस्रो विकेट खेर फाल्यो ।
रुपन्देहीले अरु १० रन स्कोरबोर्डमा जोड्दा थप दुई विकेट गुमायो । उसका पुनित मेहरा ६ रनमा आउट भए भने भिम सार्कीले खाता खोल्न सकेनन् । तर त्यसपछि विनोद भण्डारी र प्रदिप ऐरीले छैटौ विकेटका लागि ३७ रनको साझेदारी गर्दै टिमलाई जितको नजित पुर्याएका थिए ।
विनोदले २३ रन बनाए भने प्रदिपले २८ रन बनाए । तर अन्तिम बलमा जितका लागि तीन रन आवश्यक रहेकोमा रुपन्देहीले बटुल्न सकेन । बलिङमा अभिनाश बोहोराले दुई विकेट लिए ।