कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित प्रसिद्ध सिद्धनाथ मन्दिर (सिद्धबाबा) मा इतिहासमै पहिलो पटक महाआरती हुने भएको छ। सिद्धनाथ मन्दिर विकास समितिले आगामी साउन १ गतेदेखि अभिषेकात्मक लघु रुद्री एवं श्रृङ्गारिक महाआरती आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ।
सिद्धनाथ मन्दिर विकास समितिका कार्यवाहक महासचिव सीके भट्टले यो धार्मिक महायज्ञ धर्म, संस्कृति, कला संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने बताएका छन्। उनले सुदूरपश्चिम प्रदेशको डडेल्धुराकै मूर्तिकारले बनाएका हनुमान र नन्दीका मूर्तिहरू पनि यस कार्यक्रममा ल्याइएको जानकारी दिँदै कार्यक्रम ऐतिहासिक र भव्य हुने विश्वास व्यक्त गरे। यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उनले बताए।
महाआरती सञ्चालनका लागि मूल समिति सहित विभिन्न उपसमितिहरू गठन गरिएको छ। शान्ति देवी ऐरको संयोजकत्वमा अतिथि सत्कार एवं स्वागत उपसमिति, भुवन कुँवरको संयोजकत्वमा टेन्ट साउण्ड व्यवस्थापन उपसमिति, चन्द्रकान्त भट्टको संयोजकत्वमा प्रचारप्रसार, धार्मिक, साँस्कृतिक उपसमिति, सुरेश प्रकाश चटौतको संयोजकत्वमा पूजा व्यवस्थापन एवं यज्ञ व्यवस्थापन उपसमिति, तेज बहादुर भण्डारीको संयोजकत्वमा अभिनन्दन एवम् सम्मान कार्यक्रम उपसमिति, नारु जोशीको संयोजकत्वमा कलशयात्रा व्यवस्थापन उपसमिति, लोकराज भण्डारीको संयोजकत्वमा ब्राह्मण एवं नित्यकर्म व्यवस्थापन समिति र होम बहादुर कुँवरको संयोजकत्वमा श्रद्धालु भक्तजन एवं जनसम्पर्क उपसमिति गठन भएका छन्।
मन्दिरका मुख्य पुजारी पुष्करराज उप्रेतीले यो कार्यक्रम यस क्षेत्रकै लागि ऐतिहासिक र महत्वपूर्ण भएको बताउँदै मन्दिर स्थापनाकालदेखि हालसम्मकै यो पहिलो विराट कार्यक्रम भएको उल्लेख गरे।
सिद्धनाथ मन्दिर विकास समितिका उपाध्यक्ष एवम् महाआरती मूल समितिका संयोजक अरुणा जोशीले यस्ता ऐतिहासिक धार्मिक कार्यको वृद्धि विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन्। शास्त्री उमाकान्त अवस्थीले कार्यक्रम ऐतिहासिक भएको बताउँदै कलशयात्रा, वेदयज्ञ र विद्वान पण्डितहरूबाट प्रवचनसहितका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।
सिद्धनाथ मन्दिर विकास समितिका संस्थापक अध्यक्ष होम बहादुर कुँवरले धर्म, संस्कृति र कला संरक्षणका लागि यो कार्यक्रम प्रशंसनीय भएको र हिन्दु धर्म संस्कृतिको संरक्षणका लागि प्रभावकारी हुने बताए। समितिका कार्यवाहक अध्यक्ष कैलाश भट्टले यस ऐतिहासिक कार्यक्रमबाट मन्दिरको वृद्धि विकासका साथै धार्मिक पर्यटकीय केन्द्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।










Discussion about this post