कञ्चनपुर । कञ्चनपुर जिल्लाका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गरेका छन् । यस वर्ष सबै पालिकाको कुल बजेट ७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अधिकांश पालिकाहरूले विगतका कार्यक्रमहरूलाई निरन्तरता दिएका छन् भने केही नयाँ नारा र प्राथमिकता पनि अघि सारेका छन् ।
कुन पालिकाको बजेट कति ?
भीमदत्त नगरपालिका: जिल्लाकै सबैभन्दा पुरानो भीमदत्त नगरपालिकाले १७औँ नगर सभामार्फत १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको छ । यस नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै छोरी-बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम समावेश गरेको छ ।
कृष्णपुर नगरपालिका: यसले १ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
वेदकोट नगरपालिका: ९८ करोड ६५ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ । कृष्णपुर र वेदकोट दुवै नगरपालिकाले शिक्षा र स्वास्थ्य लगायतका सामाजिक सेवा क्षेत्रमा प्राथमिकता दिएको जनाइएको छ ।
शुक्लाफाँटा नगरपालिका: मंगलबार ९२ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
पुनर्वास नगरपालिका: ७५ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
बेलडाँडी गाउँपालिका: ५४ करोड ५० लाख रुपैयाँको बजेट पारित गरेको छ । यस गाउँपालिकाले करिब अढाई दशकदेखि दलदलमा परिणत भएको डेढ हजार बिघाभन्दा बढी खेतीयोग्य जमिनलाई पुनरुत्पादनका लागि ठोस कदम चाल्ने घोषणा गरेको छ ।
बेलौरी नगरपालिका र दोधाराचाँदनी नगरपालिका: यी दुवै नगरपालिकाले आइतबार नगर सभा सम्पन्न गर्दै ७६ करोड रुपैयाँ बराबरको बजेट पारित गरेका थिए । बाढीका कारण डुबानको जोखिममा पर्ने यी पालिकाहरूले विपद् व्यवस्थापन र पूर्वतयारीमा विशेष प्राथमिकता दिएका छन् ।
लालझाडी गाउँपालिका: यसले शुक्रबार नीति तथा कार्यक्रम र सोमबार बजेट सार्वजनिक गर्दै ४३ करोड ६५ लाख रुपैयाँको बजेट पारित गरेको छ ।
समग्रमा, कञ्चनपुरका स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिएका छन् ।









Discussion about this post