कञ्चनपुर — ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न भएको छ। प्रतियोगिताको पहिलो संस्करणमा कञ्चनपुर जिल्लाका विभिन्न क्याम्पस तथा विद्यालयहरूबाट १७ टिमले सहभागिता जनाएका थिए।
खेलकुदमार्फत विद्यार्थीबीच आपसी मित्रता, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कञ्चन विद्या मन्दिरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको छ।
फाइनल खेलमा सुर्योदय सेकेन्डरी स्कुलले पहिलो ब्याटिङ गर्दै १० ओभरको खेलमा कञ्चनलाई ७४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य कञ्चन विद्या मन्दिरका नरेन्द्र साउदले शानदार अर्धशतक प्रहार गर्दै ८ विकेटको जितमा रूपान्तरण गरे। कञ्चनको टोलीले १७ बल बाँकी रहँदै खेल जितेको थियो।
प्रतियोगितामा विजेता बनेको कञ्चन विद्या मन्दिरलाई ४० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता सुर्योदय सेकेन्डरी स्कुलले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फ पनि खेलाडीहरूको उत्कृष्टता झल्किएको थियो। प्रतियोगिताको बेस्ट बलर कञ्चन विद्या मन्दिरका आशिष धामी घोषित भए भने बेस्ट ब्याट्सम्यान पनि सोही टोलीका नरेन्द्र साउद बने। त्यस्तै, सम्पूर्ण प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा सुर्योदय सेकेन्डरी स्कुलका विष्णु बिष्टलाई म्यान अफ द टुर्नामेन्ट घोषणा गरियो।
ब्रिक्सटन स्पोर्ट्स एण्ड इन्टरटेनमेन्ट क्लबद्वारा आयोजित प्रतियोगिताको समापन समारोहमा भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशी प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा ब्रिक्सटन कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. यज्ञराज चटौत, प्रिन्सिपल डा. भोजराज पन्त, एकेडेमिक एडभाइजर निशा भट्ट, क्यान सुदूरपश्चिमका सचिव लक्ष्मण भट्ट, क्यान कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्द लगायत विभिन्न सहभागी विद्यालय तथा क्याम्पसका प्रिन्सिपल तथा प्रमुखहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले जिल्लाका युवाहरूमा खेल प्रतिको आकर्षण बढाउनुका साथै खेलकुद संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ।










Discussion about this post