कञ्चनपुर – गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धी विवादित ऐनको विरोधमा सोमबारदेखि कञ्चनपुरसहित देशभरका यातायात व्यवसायीले गरेको बन्दले सर्वसाधारण यात्रु मारमा परेका छन्। बिहानैदेखि स्थानीय र बाह्य जिल्लाका विभिन्न गन्तव्यमा जाने सार्वजनिक यातायातका साधन सञ्चालनमा नआउँदा यात्रुहरू समस्यामा परेका छन्। विशेषगरी भारतबाट रोजगारी गरी फर्किएका यात्रुहरू पैदलै गन्तव्यतर्फ जान बाध्य भएका छन्।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति कञ्चनपुरका अध्यक्ष जनक बहादुर चन्दले सरकारको अन्यायपूर्ण नीतिविरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए। “सरकारले हामीलाई बारम्बार आन्दोलन गर्न बाध्य बनाएको छ। यो विभेदकारी निर्णयविरुद्ध हामीले आफ्ना सवारी साधन थन्क्याएर सडकमा उत्रिनु परेको हो,” उनले भने। माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ।
समितिका सदस्य तथा महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका सचिव देवराज जोशीले गण्डकी प्रदेश सरकारले संघीय यातायात ऐन ०४९ को परिच्छेद २ को दफा ८(२) र १२(१) विपरीत नयाँ नियमावली ल्याएको बताए। “१३ जेठदेखि निरन्तर आन्दोलन चलिरहेको छ, र १८ जेठदेखि यो शसक्त बनेको छ। १९ जेठदेखि अनिश्चितकालीन यातायात बन्द गरेका छौँ,” उनले भने। आन्दोलनमा सवारी साधनमा कालो झण्डा राखेर र्याली निकाल्ने र बसपार्क, ग्यारेजमा सवारी साधन थन्क्याउने गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष डम्बरराज पन्तले सरकारले यातायात व्यवसायी र मजदुरमाथि सधैँ अन्याय गरेको आरोप लगाए। उनले भने, “प्रदेश सरकारले संघीय ऐनसँग बाझिने नियम ल्याएको छ, र संघीय सरकारले यो विषयमा चुप लागेर बसेको छ।” उनले सर्वोच्च अदालतको २० चैत ०८० को परमादेश कार्यान्वयन नभएको, बीमा र मालवाहक सवारी साधन नियमनमा पनि समस्या रहेको बताए।
पवनदूत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष महेश प्रसाद जोशीले प्रदेश सरकारको ऐन विवादित भएको र यसलाई समाधान गर्न सरकारले चासो देखाउनुपर्ने बताए। अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य पदमराज जोशीले मजदुरलाई सामाजिक सुरक्षा कोषलगायतका सुविधाबाट वञ्चित गरिएको र निजी सवारी साधन सञ्चालकलाई प्रोत्साहन गर्ने नीति ल्याइएको भन्दै ऐन मान्य नहुने बताए।
आन्दोलनको प्रभाव महेन्द्रनगरको बसपार्कदेखि पूर्व-पश्चिम महेन्द्र राजमार्गसम्म परेको छ। कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले आन्दोलन शान्तिपूर्ण रहेको र सुरक्षाकर्मी परिचालित भएको जानकारी दिए। सर्वसाधारणले सरकार र यातायात व्यवसायीबीच वार्ता गरी समस्याको समाधान गर्नुपर्ने माग गरेका छन्।










Discussion about this post