सिजनबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा पुग्ने दौडमा रहेको पञ्जाब किंग्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हराउँदै सिजनको विजयी समापन गरेको हो ।
पञ्जाब किंग्सले दिएको २०७ रनको विशाल लक्ष्य दिल्लीले तीन बल बाँकी रहँदा मात्र चार विकेट गुमाएर पूरा गर्यो । यो हारसँगै पञ्जाबले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो भने गुजरात टाइटान्स १८ अङ्कसहित तालिकाको शिखरमा यथावत् रह्यो । पञ्जाब १७ अङ्कका साथ दोस्रो स्थानमा सीमित रह्यो । सबै खेल सकाएको दिल्लीले १५ अङ्क जोड्दै सिजनको इज्जत बचाएको छ ।
दिल्लीका लागि समीर रिज्वी नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै अविजित ५८ रन बनाए, जुन २५ बलमा तीन चौका र पाँच छक्कासहित आएको हो । करुण नैरले २७ बलमा ४२ रनको योगदान दिए। दिल्लीका बलरहरूमध्ये हरप्रित बरले दुई विकेट हात पार्न सफल भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । पञ्जाबका मार्कस स्टोइनिसले आक्रामक पारी खेले । उनले अविजित रहँदै १६ बलमा चार छक्का र तीन चौकासहित ४४ रनको योगदान दिए । कप्तान श्रेयस ऐयारले ३४ बलमा ५३ रन बनाए भने जोस इङ्लिसले १२ बलमा ३२ रन जोड्दै टोलीको स्कोर मजबुत बनाए ।
दिल्लीका लागि मुस्ताफिजुर रहमानले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले चार ओभरमा ३३ रन दिँदै तीन विकेट झारे । त्यस्तै, विपराज निगम र कुलदीप यादवले समान दुई-दुई विकेट लिए ।
सिजनको अन्त्यमा दिल्लीको यो जित सान्त्वना मात्र भए पनि शीर्ष टिममाथिको विजयले टोलीको मनोबल उच्च बनाएको छ । पञ्जाबका लागि भने यो हार निर्णायक बन्न पुग्यो, जसका कारण उनीहरू तालिकाको शिखरमा पुग्न चुके ।










Discussion about this post