कञ्चनपुर – नेपालले अर्को वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा स्थान बनाउन सकेन। आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि नेपालको विश्वकप यात्रा टुंगिएको हो।
मूलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपालले जित्नैपर्ने थियो, तर अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो। हिजो रातिदेखि बिहानसम्मको वर्षाले मैदान भिजेको थियो। ३० यार्ड सर्कलभित्रको मैदान सुके पनि बाउन्ड्री नजिकको क्षेत्र नसुकेकाले म्याच रेफ्री र अम्पायरले कम्तीमा २०–२० ओभरको खेल पनि सम्भव नभएको भन्दै खेल रद्द गरे।
नेपाल र अफगानिस्तानले पहिलो तीन खेल जितेर अन्तिम खेलमा पुगेका थिए। नेट रनरेटमा अफगानिस्तान अगाडि रहेकाले उनीहरू विश्वकपमा छनोट भए। नेपाल, ओमान, यूएई, अफगानिस्तान र हङकङ सहभागी यस प्रतियोगिताको विजेता टोलीले विश्वकपमा स्थान बनाउने प्रावधान थियो।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई एक विकेटले हराएको थियो। त्यस्तै, नोभेम्बरमा यूएईमा भएको एशिया कपमा पनि नेपाल विजयी भएको थियो। तर, यो प्रतियोगिताअघि भएको तीन खेलको शृङ्खलामा अफगानिस्तान २–१ ले हावी भएको थियो। नेपालले हालसम्म आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ।









Discussion about this post