कञ्चनपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई ५ विकेटले पराजित गरेको छ। गएराति बेङ्गलुरुको घरेलु मैदानमा भएको वर्षाले प्रभावित खेलमा पन्जाबले ९६ रनको लक्ष्य १२ ओभर एक बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो। यो पन्जाबको सात खेलमा पाँचौं जित हो।
वर्षाका कारण २० ओभरको खेल १४ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो। बेङ्गलुरुले ७ विकेट गुमाउँदा मात्र ४२ रन बनाएको थियो। टिम डेविटले अविजित अर्धशतक प्रहार गरे। पन्जाबका अर्शदीप सिंह, मार्को जानसेन, युजभेन्द्र चाहाल र हरप्रीत ब्रारले समान दुई विकेट लिए।
जवाफी ब्याटिङमा पन्जाबका नेहाल वाडेराले अविजित ३३ रन बनाए। बेङ्गलुरुका जोश हेजलउडले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए।
यो जितसँगै ७ खेलमा १० अङ्कसहित पन्जाब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान ७ खेलमा ८ अङ्कसहित बेङ्गलुरु चौथो स्थानमा छ।
आईपीएलमा आज दुई खेल हुँदैछन्। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स तथा बेलुका ७:४५ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ।









Discussion about this post