अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीले आउँदो वर्ष पाकिस्तानमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यास लिने घोषणा गरेका छन् ।
अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला २–१ ले जित्दा उत्कृष्ट खेलाडी बनेका ३९ वर्षीय अलराउन्डर नबीले सन्न्यासबारे बताएका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । पछिल्लो विश्वकपपछि सन्न्यास लिने सोच बनाए पनि टिम च्याम्पियन्स ट्रफीका लागि छनोट भएकाले आफूले च्याम्पियन्स ट्रफी खेल्दा राम्रो हुने नबीले बताएका छन् ।
अफगानिस्तानबाट सबैभन्दा धेरै १ सय ६७ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मोहम्मद नबी अहिले आईसीसी वरीयतामा विश्वको नम्बर एक एकदिवसीय अलराउन्डर छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार ६ सय रन बनाउँदै १ सय ७२ विकेट लिएका छन् ।
पछिल्लो विश्वकपमा छैटौं स्थानमा रहेर अफगानिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफीका लागि छनोट भएको हो ।