सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विवादपछि मन्त्री किरातीले भने-म सबैको अभिभावक हुँ, सबै अस्तित्वको समान गर्छु

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा परेपछि उक्त अभिव्यक्तिलाई थप प्रस्ट पारेका छन् । मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्नुपर्ने बताएका छन् ।

अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्नेमा आफ्नो जोड रहेको उनले बताए । उनले अहिले आफू सबैको अभिभावक रहेको र सबै अस्तित्वको समान गर्ने प्रस्ट पारेका छन् ।

उनले भनेका छन्– ‘संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौँ ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो, भन्नलाई त मलाई- पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

मन्त्री सुदन किरातीले बुधबार क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताए । बुधवार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै किरातीले भनेका थिए, ‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds