सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सम्बोधन गरिरहेका छन्।
आजको बैठकको कार्यसूची पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रमको छ। तर, बैठकमा प्रदेश सभामा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी भने अनुपस्थित छ।
सो पार्टीका प्रदेश सभा सदस्यहरू अहिले काठमाडौंस्थित दरबारमार्गको एक होटलमा रहेको बताइएको छ। उनीहरूले आफ्नो पार्टीका संस्थापक टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको रिहाइलगायतका माग पूरा नभएसम्म सरकारलाई विश्वसाको मत नदिने बताएका थिए।
आज विश्वासको मत नपाए मुख्यमन्त्री रावल पदमुक्त हुनेछन्। उनी एमालेसहित, नेकपा माओवादी केन्द्र, राप्रपा र नाउपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाली कांग्रेसका सांसदहरूले फ्लोरक्रस गरेको खण्डमा मात्र मुख्यमन्त्री रावललाई बहुमत पुग्नेछ। तर, कांग्रेसका सांसदहरूले फ्रलोरक्रस गर्ने सम्भावन एकदमै न्यून छ। यद्यपि, कांग्रेसले रावललाई मत नदिन ह्वीप भने जारी गरेको छैन।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ। थाहा खबर बाट सभार









Discussion about this post