राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेरमात्रै संसद विघटन गर्न सुझाव दिएका छन्। त्यसका लागि राष्ट्रिय राजनीतिक सहमतिको आवश्यकता रहेको उनले बताए।
’ताजा जनादेशका लागि प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जानुभन्दा अर्को सही विकल्प पनि छैन भन्ने हो भने सबभन्दा पहिले राष्ट्रिय राजनीतिक सहमतिमा नेपालको संविधान संशोधन गरेर प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जाने संवैधानिक बाटो तय गर्नुपर्छ,’ विज्ञप्ति जारी गर्दै उनले भने।
उनले यही अवस्थामा संसद भंग गर्ने हो भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चालेको त्यसबेलाको कदम सही थियो भनेर स्वीकार्नुपर्ने बताए। ’यो असंवैधानिक भए पनि राजनीतिक इमान्दारीताको कदम हुनेछ। त्यसो गर्न गठबन्धनका नेताहरुको स्वाभिमानले दिँदैन र असंवैधानिक पनि हुन्छ,’ उनले भने।
’संवैधानिक इजलासको फैसला संविधान संशोधन सरह हुन्छ भनेर नबुझ्नु भएको भन्न मिल्दैन। तर भन्नै पर्छ यो बल्मिचाइभन्दा अर्को हुन सकने छैन। त्यसो त अहिले संसदका दुवै सदनका बैठक चल्न नदिएर संसदको सबभन्दा ठूलो पार्टी एमालेले हरेक दिन नेपालको संविधान उल्लंघन गरिरहेको छ र सिंगो राष्ट्र तमासे भएर हेरिरहन बाध्य छ,’ उनले भने।
त्यसैले नेपालको संविधानलाई संरक्षण गर्दै अगाडि बढ्ने सही र इमान्दार प्रयत्न राष्ट्रिय राजनीतिक सहमति गरेर संसद भंग गर्ने रहेको उनले बताए।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि सत्ता गठबन्धनमा ’अर्ली इलेक्सन’को बहस सुरु भएको छ। आजमात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद विघटन गरेर चुनाव जान आह्वान गरको थिए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post