इटहरी । गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। उनले आफ्नो विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य तथा सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका छन्।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षद् सभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नै समुदायका माझ विवाहको मिति सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए।
उनले विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे। आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले गोरखामा विवाह गर्ने निर्णय गरेको उनको भनाइ छ।
गुरुङले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने सोच परिवर्तन हुनुपर्ने बताए।
उनका अनुसार विवाहमा सीमित व्यक्तिहरूलाई मात्रै सहभागी गराइनेछ। पार्टी प्यालेसमा भव्य समारोह आयोजना गर्न सकिने भए पनि आफू र हुनेवाला श्रीमती दुवैको चाहनाअनुसार परम्परागत शैलीमा विवाह गर्न लागिएको उनले बताए।
उनले विवाह हुने गोरखाको स्थानलाई भविष्यमा पर्यटन तथा वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने सम्भावना पनि औँल्याए। आफ्नो विवाहले स्थानीय होमस्टे, मौलिक कला–संस्कृति र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ छ।
विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहभागी हुने अपेक्षा गरिएको उनले बताए।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्याएको सहयोग र साथको स्मरण गर्दै देश तथा विदेशमा रहेका समुदायका सदस्यप्रति आभार व्यक्त गरे।
उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालका नागरिकले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको आन्दोलनमा पूर्वी क्षेत्रका नागरिकले निरन्तर सहयोग गरेको उनको भनाइ थियो।
गुरुङले आफ्नो समुदायले सिकाएको देशप्रेम, एकता र सामाजिक सद्भावको भावना आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्नेमा जोड दिए। साथै, देशमा सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै नागरिकको सुरक्षा र राष्ट्रिय हितका लागि आफू निरन्तर लागिरहने बताए।










Discussion about this post