सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै स्वास्थ्य सेवा प्रवाह, बिरामीको सुरक्षा तथा अस्पतालमा हुन सक्ने बिचौलियाको गतिविधिबारे चासो व्यक्त गरेका छन्।
अनुगमनका क्रममा उनले उपचारका लागि प्रतिष्ठानमा आउने बिरामीले सहज र गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिँदै बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
गृहमन्त्री गुरुङले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स अस्पताल परिसरमा प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि निर्देशन दिएका छन्।
सो अवसरमा प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्की, निर्देशक इन्द्रकुमार बिचौलियालगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, सुधारका प्रयास तथा आगामी योजनाबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे समेत जानकारी लिएका थिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन उनले निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरेका छन्। उनी आजै इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम रहेको छ।










Discussion about this post