काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्यामा कमी आउन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिने यात्रुको भीड र बिदाइका भावुक दृश्यले रोजगारीका लागि विदेशिने नेपालीको क्रम निरन्तर रहेको देखाउँछ।
रोजगारीको अभाव, आर्थिक समस्या, पारिवारिक जिम्मेवारी र उज्ज्वल भविष्यको खोजीमा हजारौँ नेपाली विदेशिने गरेका छन्। विमानस्थलमा देखिने भीड केवल यात्रुको चाप मात्र नभई स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको अवस्थाको चित्रसमेत बनेको छ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८३ असोज महिनामा मात्रै ७३ हजार ७६५ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। गत वर्षको सोही अवधिमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए। यसले अघिल्लो वर्षको तुलनामा विदेशिने नेपालीको सङ्ख्या बढेको देखाउँछ।
श्रम स्वीकृति लिनेमा ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला रहेका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको सङ्ख्या ठूलो छ। साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, मलेसिया र कुवेतलगायतका देश नेपाली श्रमिकका प्रमुख गन्तव्य बनेका छन्।
विदेशमा श्रम गरेर नेपालीले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र र लाखौँ परिवारको जीवनयापनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तर, यससँगै देशको सक्रिय तथा दक्ष युवा जनशक्ति विदेश पलायन हुने चुनौती पनि बढ्दै गएको छ।










Discussion about this post