काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले बाढी प्रभावित नागरिकसम्म ढिलाइ नगरी प्रभावकारी रूपमा राहत पुर्याउनु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको हो।
मन्त्री तिमिल्सिनाले प्रभावित परिवारको अन्तिम सूची तयार गरी तत्काल राहत वितरण गर्न पालिकाहरूलाई आग्रह गर्नुभएको छ। राहत वितरणका क्रममा कुनै समस्या देखिएमा सङ्घीय सरकार स्थानीय तहसँगै रहेर समाधान गर्न तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभएको छ।
सरकारले बाढी प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका हकमा थप प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ।
त्यस्तै, बाढीमा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँ र एउटै परिवारका थप सदस्यको मृत्यु भएको अवस्थामा प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय सरकारले यसअघि नै गरेको छ।
मन्त्री तिमिल्सिनाका अनुसार राहतसम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक बजेटसमेत उपलब्ध गराइसकिएको छ। कुनै नीतिगत वा प्रक्रियागत समस्या देखिए त्यसको समाधान गर्न सङ्घीय सरकार तयार रहेको उहाँले बताउनुभएको छ।
प्रभावित क्षेत्रमा थप रकम आवश्यक परे सम्बन्धित निकायबाट तत्काल निकासा हुने व्यवस्था मिलाइएको पनि मन्त्री तिमिल्सिनाले जानकारी दिनुभएको छ।










Discussion about this post