काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुलको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
नेपालको दार्चुलास्थित महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुला तहसिलको छारछुम जोड्ने ११० मिटर लामो पुलको उद्घाटन गरिएको हो।
पुल निर्माणको सम्पूर्ण खर्च भारत सरकारले व्यहोरेको हो। भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड, पञ्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो।
तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले २०८० असोज ३ गते उक्त पुलको शिलान्यास गरेका थिए।
पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि दार्चुलासहित आसपासका पहाडी क्षेत्रका नागरिकलाई नेपाल–भारत आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालय स्थापना गरी सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
यस पुलले दुई देशबीचको सीमापार आवागमन सहज बनाउनुका साथै व्यापार, पर्यटन, आर्थिक गतिविधि र नागरिकस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।










Discussion about this post