काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेका हुन्। टस हारेको सुदूरपश्चिमले पहिले बलिङ गर्नेछ।
सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। लिग चरणमा ७ खेलमध्ये ५ मा जित र २ मा हार बेहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुगेको थियो।
यता, चितवन राइनोजले लिग चरणमा ७ खेलमध्ये ३ मा जित, ३ मा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। ७ अंकसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेको चितवनले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
चितवनले एनपीएल इतिहासमा पहिलो पटक दोस्रो क्वालिफायर खेल्न लागेको हो। पहिलो संस्करणमा प्लेअफमा पुगे पनि एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको चितवन दोस्रो संस्करणमा भने अंक तालिकाको सातौँ स्थानमा सीमित भएको थियो।
सुदूरपश्चिम रोयल्सले पनि तीन संस्करणको इतिहासमा पहिलो पटक दोस्रो क्वालिफायर खेल्न लागेको हो। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा विराटनगर किंग्सलाई पहिलो क्वालिफायरमा पराजित गर्दै सुदूरपश्चिमले लगातार दुई पटक फाइनल यात्रा तय गरेको थियो।










Discussion about this post