काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायर खेल आज हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको सुदूरपश्चिमले फाइनल प्रवेशको दोस्रो अवसरका रूपमा चितवनसँग प्रतिस्पर्धा गर्न लागेको हो। यता, एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
चितवन राइनोजका लागि यो दोस्रो क्वालिफायरको यात्रा पहिलोपटक हो। पहिलो संस्करणमा प्लेअफसम्म पुगेको चितवन एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो। दोस्रो संस्करणमा भने सातौँ स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो।
सुदूरपश्चिम रोयल्सका लागि भने दोस्रो क्वालिफायर नयाँ अनुभव होइन। पहिलो र दोस्रो संस्करणमा लगातार फाइनल खेलेको सुदूरपश्चिम दुवै संस्करणमा उपविजेता बनेको थियो। यसपटक पनि फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यसहित टोली मैदानमा उत्रिनेछ।
यी दुई टोलीबीचको प्रतिस्पर्धा आज अपराह्न ५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको खेल जित्ने टोलीले उपाधिका लागि लुम्बिनी लायन्ससँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।










Discussion about this post