काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने तथा लामो समयदेखि समाधान हुन नसकेका द्विपक्षीय समस्या सम्बोधन गर्ने अवसरका रूपमा उपयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज (सीपीएस) को संयुक्त आयोजनामा सोमबार आयोजित छलफलमा सहभागी विज्ञहरूले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
विज्ञहरूले सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता लामो समयदेखि थाती रहेका विषयलाई पनि उच्च राजनीतिक तहमा उठाएर समाधानको पहल गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा सीपीएसका अध्यक्ष डा. अशोक के. बेहुरिया, सीपीएसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायक, प्रविधि उद्यमी शिक्षित भट्ट र नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापा वक्ताका रूपमा सहभागी थिए।
छलफलमा सीपीएसका अध्यक्ष डा. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई परम्परागत राज्यकेन्द्रित र सुरक्षामुखी दृष्टिकोणबाट मात्रै हेर्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए। जनतालाई द्विपक्षीय सम्बन्धका महत्वपूर्ण सरोकारवालाका रूपमा स्वीकार गर्न सके मात्रै सम्बन्धले अपेक्षित गति लिन सक्ने उनको भनाइ थियो।
उनले औपनिवेशिक विरासतबाट बाहिर निस्कँदै छिमेकी मुलुकसँगको सम्बन्धलाई समावेशी र पारस्परिक हितमा आधारित बनाउनुपर्ने धारणा राखे। गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाविनाको सहयोगको अवधारणा स्मरण गराउँदै उनले भारतको छिमेक नीतिमा देखिएका परिवर्तनबारे पनि चर्चा गरे।
त्यस्तै, दिल्ली विश्वविद्यालयका डा. निहार नायकले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार र सहकार्य विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। भ्रमणका क्रममा नेपालले आफ्ना विकासका प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको सुझाव थियो।
उनले विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल र भारतबीच सहकार्य विस्तारको पर्याप्त सम्भावना रहेको उल्लेख गरे। तर, सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क र गैरभन्सार अवरोधजस्ता समस्याले द्विपक्षीय सम्बन्धलाई अपेक्षित रूपमा अघि बढ्न नसकेको उनको भनाइ थियो।
प्रधानमन्त्रीको भारत भ्रमणले पुराना समस्याबारे उच्च राजनीतिक तहमा संवाद अघि बढाउनुका साथै आपसी विश्वास अभिवृद्धि र दुवै देशलाई लाभ पुग्ने सहकार्यको वातावरण निर्माण गर्न सक्ने उनले बताए।
प्रविधि उद्यमी शिक्षित भट्टले बदलिँदो विश्व परिवेशमा प्रविधि अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको महत्वपूर्ण पक्ष बन्दै गएको बताए। सेमिकन्डक्टर आपूर्ति शृंखला र कृत्रिम बौद्धिकताजस्ता महत्वपूर्ण प्रविधिमा सीमित पहुँच तथा नियन्त्रणका कारण नेपाल र भारत दुवै जोखिममा रहेको उनको भनाइ थियो।
उनले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डिजिटल पूर्वाधारका क्षेत्रमा दुई देशबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए।
त्यसैगरी, नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले नेपाल–भारत सम्बन्धलाई नयाँ पुस्ताको दृष्टिकोणबाट समेत विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए।










Discussion about this post