काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै श्रद्धा, भक्ति र आस्थाको महापर्व छठ विधिवत् रूपमा सम्पन्न भएको छ। चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत आज बिहान व्रतालुहरूले नदी, तलाउ तथा जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने छठ पर्वमा पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई बिहानको अर्घ्य दिने परम्परा छ।
छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा स्वास्थ्य लाभको कामना गरिन्छ। यस पर्वमा पूजा सामग्री तथा प्रसाद तयार गर्दा विशेष शुद्धता र पवित्रता अपनाउने धार्मिक मान्यता रहेको छ।
पहिले तराई–मधेस क्षेत्रमा बढी प्रचलित रहेको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी जिल्ला र देशका विभिन्न क्षेत्रमा समेत उत्साहका साथ मनाउन थालिएको छ।
यसैबीच, सरकारले छठ पर्वको अवसरमा आज पनि सार्वजनिक बिदा दिएको छ। यस वर्ष सरकारले कात्तिक शुक्ल षष्ठी र सप्तमी दुवै दिन सार्वजनिक बिदा दिएको हो। यसअघि सामान्यतया अस्ताउँदो सूर्यलाई अर्घ्य दिने षष्ठीका दिन मात्रै सार्वजनिक बिदा दिइँदै आएको थियो।










Discussion about this post