कञ्चनपुर । जनप्रतिनिधि बन्न चाहने व्यक्तिको मूल्याङ्कन सामाजिक सञ्जालको लोकप्रियता, आर्थिक शक्ति र चुनावी प्रचारबाट नभई समाजप्रतिको वास्तविक योगदानका आधारमा हुनुपर्ने धारणा सार्वजनिक गरिएको छ।
अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरका अध्यक्ष एमडी भण्डारीले जनताको नेतृत्व गर्न चाहने व्यक्तिको कम्तीमा पाँच वर्षको सामाजिक योगदान, नैतिक आचरण र जनतासँगको सम्बन्धलाई मूल्याङ्कनको आधार बनाउनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा समाजसेवी र जनप्रेमी देखिनु तथा वास्तविक जीवनमा जनताको दुःख–सुखमा साथ दिनु फरक विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार समाज परिवर्तन सामाजिक सञ्जालका स्टाटस र प्रचारले नभई निरन्तरको व्यवहार र कर्मले सम्भव हुन्छ।
उनले जनप्रतिनिधि बन्न चाहने व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगारी, विकास, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायका क्षेत्रमा विगतमा गरेको योगदानको जवाफ दिन सक्नुपर्ने बताएका छन्। विशेषगरी गरिब, किसान, श्रमिक, विद्यार्थी, महिला तथा उत्पीडित समुदायका पक्षमा कस्तो भूमिका निर्वाह गरियो भन्ने विषय चुनावी बहसको महत्त्वपूर्ण आधार बन्नुपर्ने उनको भनाइ छ।
राजनीति व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने माध्यम नभई जनताको जीवनस्तर परिवर्तन गर्ने र सार्वजनिक जिम्मेवारी पूरा गर्ने क्षेत्र भएको उल्लेख गर्दै उनले नेतृत्वको छनोट गर्दा भाषण, पोस्टर र प्रचारभन्दा इमानदारी, विचार, व्यवहार तथा सामाजिक योगदानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनले पाँच वर्षको सामाजिक योगदानलाई उम्मेदवारी रोक्ने कानुनी आधारका रूपमा नभई राजनीतिक दलले उम्मेदवार छनोट गर्दा र नागरिकले मतदान गर्दा अपनाउनुपर्ने नैतिक मापदण्डका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन्।
उनका अनुसार जनप्रतिनिधि बन्नुअघि समाजमा आफ्नो उपस्थिति र योगदान प्रमाणित गर्न आवश्यक छ। चुनावका बेला मात्रै जनताको घरदैलोमा पुग्ने प्रवृत्तिभन्दा निरन्तर जनताको बीचमा रहेर काम गर्ने नेतृत्व अहिलेको आवश्यकता भएको उनले बताएका छन्।
अन्त्यमा उनले लोकप्रियताभन्दा विश्वसनीयता, प्रचारभन्दा योगदान र अनुहारभन्दा विचार तथा कर्मलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
– एमडी भण्डारी
अध्यक्ष, अखिल (क्रान्तिकारी) जिल्ला समिति, कञ्चनपुर










Discussion about this post