महोत्तरी । श्रद्धा, आस्था र निष्ठाको पर्व चैती छठअन्तर्गत आज व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन्। यस विधिअन्तर्गत व्रतालुहरू बिहानै नदी, पोखरी तथा अन्य जलाशयमा गई स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्ने गर्दछन्।
छठ पर्वको दोस्रो दिन शनिबार खरना मनाइनेछ। खरनाका दिन व्रतालुहरू दिनभर उपवास बसी साँझ छठीमाताको पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।
षष्ठी तिथिका दिन मुख्य पूजा गरिन्छ। यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर अर्घ्य दिइनेछ। यस अवसरमा ठकुवा, भुसवा, खजुरिया, फलफूल, नरिवल, केरा, उखुलगायत सामग्री चढाउने परम्परा छ।
त्यसैगरी, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चैती छठ पर्व विधिवत् सम्पन्न हुनेछ। व्रतालुहरू रातभर छठघाटमा जाग्राम बसी बिहान सूर्यलाई अर्घ्य दिने गर्दछन्।
छठ पर्वमा सूर्यदेव र छठीमाताको पूजा आराधना गर्दा मनोकांक्षा पूरा हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। कार्तिक महिनामा मनाइने छठको तुलनामा चैती छठमा श्रद्धालुको उपस्थिति कम हुने गरे पनि पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ।










Discussion about this post