काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलसँगै प्लेअफमा पुग्ने टोलीको समीकरण थप रोचक र पेचिलो बन्ने देखिएको छ।
आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्।
काठमाडौं पाँच खेलमा चार जित र एक हारसहित ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ। त्यस्तै, लिग चरणको अन्तिम खेल खेल्न लागेको सुदूरपश्चिम रोयल्सले ६ खेलमा चार जित र दुई हारसहित समान ८ अंक जोडेको छ।
आजको खेल जित्ने टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ। सुदूरपश्चिमका लागि यो लिग चरणको अन्तिम खेल भएकाले जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पराजित भए पनि त्यसपछि लगातार चार जित निकालेको काठमाडौं भने एक खेल अगावै प्लेअफमा स्थान पक्का गर्ने योजनामा छ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। जनकपुरका लागि यो लिग चरणको अन्तिम खेल हो। ६ खेलमा दुई जित र चार हार बेहोरेको जनकपुर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
यता, चितवन राइनोजले पाँच खेलमा दुई जित, दुई हार र एक खेलमा वर्षाका कारण अंक बाँड्दै ५ अंक जोडेको छ। आज जनकपुरलाई पराजित गर्न सके चितवनको खातामा ७ अंक पुग्नेछ। चितवनले त्यसपछि पनि लिग चरणको एक खेल खेल्न बाँकी रहनेछ।
जनकपुरले आज जित निकालेमा ६ अंक पुग्नेछ। तर, त्यसले मात्र उसको प्लेअफ यात्रा सुनिश्चित हुने छैन। प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जनकपुरले अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने अवस्था छ। ६ खेल खेलेको विराटनगर किङ्सले तीन जित र तीन हारसहित ६ अंक जोडिसकेको छ।
आजको खेलमा जित निकाल्दै चितवन प्लेअफ दौडमा आफ्नो दाबेदारी बलियो बनाउन चाहन्छ। चितवनले लिग चरणको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ। बाँकी दुवै खेल जितेर प्लेअफमा स्थान बनाउने लक्ष्यसहित चितवन मैदान उत्रनेछ।
यसअघि बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ।
अब आजका दुवै खेलले प्लेअफ समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले एनपीएलको प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।










Discussion about this post