काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत २२औँ खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ। यस हारसँगै पोखरा प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरका लागि वसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे। लोकेश बमले ३३ रन जोड्दा इसुरु उडाना २५ र सेहान जयसुरिया १७ रनमा अविजित रहे।
पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ विकेट लिए भने विपिन खत्री र धनञ्जय लक्सनले १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो। पोखराका लागि युवराज सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। धनञ्जय लक्सनले २२ तथा सन्नी विकले १२ रन बनाए।
विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिए। सन्दीपले १४.३, १४.४ र १४.५ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए।
तेस्रो संस्करणको एनपीएलमा ह्याट्रिक गर्ने सन्दीप पहिलो खेलाडी बनेका छन्। साथै, एकै इनिङ्समा ६ विकेट लिने यस संस्करणका पहिलो खेलाडी पनि उनी बने। समग्र एनपीएल इतिहासमा भने एकै इनिङ्समा ६ विकेट लिने उनी तेस्रो खेलाडी हुन्।
यो जितसँगै विराटनगरले ६ खेलबाट ३ जित हात पारेको छ। यसअघि ६ खेल खेलेको पोखराले ५ खेलमा हार बेहोरेपछि प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो।










Discussion about this post