काठमाण्डौ – यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार बेलुका सवा ६ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग (पीक लोड) उक्त परिमाणमा पुगेको हो।
त्यस समयमा देशभित्र कुल २ हजार ४०० दशमलव ३० मेगावाट विद्युत् उत्पादन भएको थियो। आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७ दशमलव ३० मेगावाट विद्युत् भारत र बङ्गलादेशतर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६ मेगावाट, सहायक कम्पनीबाट ४९९ मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२ मेगावाट र जलाशययुक्त आयोजनाबाट २२ दशमलव ३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो।
प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रका करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहे पनि प्राधिकरणले विद्युत्को उच्चतम माग व्यवस्थापन गरेको जनाएको छ।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग १ हजार ७४५ मेगावाट रहेको थियो। यस वर्ष मागमा ६८ मेगावाट वृद्धि भएको छ। त्यस्तै, काठमाण्डौ उपत्यकामा विद्युत्को माग ४८९ मेगावाट पुगेको छ, जुन गत वर्ष ४०२ मेगावाट थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्को माग व्यवस्थापनमा खटिएका प्राधिकरणका कर्मचारी, व्यवस्थापन टोली र उपभोक्तालाई धन्यवाद दिनुभएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सम्भावित प्राविधिक समस्या समाधान गर्न ट्रान्सफर्मरसहित आवश्यक उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा परिचालन गरिएको थियो।










Discussion about this post