काठमाण्डौ – उज्यालोको पर्व तिहार नजिकिएसँगै काठमाण्डौ उपत्यकासहित देशका प्रमुख व्यापारिक केन्द्रहरूमा किनमेल गर्नेको चहलपहल बढेको छ। तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेपछि व्यापारिक क्षेत्रहरूमा रौनक छाएको छ।
काठमाण्डौका असन, इन्द्रचोक, न्युरोड र महाबौद्धलगायतका बजारमा उपभोक्ताको बाक्लो भीड देखिन थालेको छ। पसलदेखि सडकपेटीसम्म तिहारमा प्रयोग हुने विभिन्न सामग्रीले बजार रंगीन बनेका छन्।
बजारमा सप्तरङ्गी टीका, फूलमाला, झिलिमिली बत्ती, भाइ मसला, ओखर, भोगटे तथा मिठाईको किनमेल बढेको छ। त्यस्तै, घर सजावटका सामग्री, नयाँ कपडा, पूजाका सामग्री र खाद्यान्न खरिद गर्ने ग्राहकको पनि उत्तिकै चहलपहल छ।
भक्तपुरमा उत्पादित माटाका पाला, तामा तथा पित्तलका पूजाका भाँडाकुँडा र मूर्तिले बजारमा नेपाली मौलिकताको झल्को दिएका छन्। ढाका टोपी तथा अन्य स्थानीय उत्पादनको बिक्रीले स्वदेशी वस्तुको व्यापारलाई समेत टेवा पुर्याएको छ।
तिहार लक्षित व्यापार बढेसँगै साना व्यापारी, फूल उत्पादक किसान तथा स्थानीय व्यवसायी उत्साहित देखिएका छन्। चाडपर्वको किनमेलले बजारमा आर्थिक गतिविधिसमेत बढाएको छ।










Discussion about this post