काठमाडौं – टर्कीमा आयोजना हुन लागेको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालले यसपटक आफ्नै प्याभिलियन स्थापना गर्ने भएको छ। प्याभिलियनमार्फत नेपालको जलवायु परिवर्तनसम्बन्धी अवस्था, हिमाली क्षेत्रका समस्या तथा जलवायुजन्य चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको छ।
नेपालले सम्मेलनमा हिमालका मुद्दालाई प्राथमिकताका साथ उठाउनुका साथै कोपका मुख्य वार्तामा समेत समावेश गराउन पहल गरिरहेको छ। सोही उद्देश्यअनुसार नेपालको प्याभिलियनको मुख्य प्रवेशद्वारमा हिमालको आकर्षक आकृति निर्माण गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर खनालसहितको टोली सम्मेलनको पूर्वतयारीमा जुटेको छ। खनालका अनुसार कोप सम्मेलनमा प्याभिलियन राख्न विभिन्न देशले १० देखि २० करोड रुपैयाँसम्म खर्च गर्ने गरेका छन्।
नेपालले प्याभिलियन शुल्कमा छुट वा पुनर्विचार गर्न आयोजकसँग पत्राचार गरेको थियो। त्यसपछि नेपालले सामान्य खालको एग्जिबिसन प्याभिलियन लिएको खनालले जानकारी दिएका छन्।
नेपाली प्याभिलियनमा कम्तीमा ४० वटा गतिविधि सञ्चालन गर्ने तयारी गरिएको छ। जसअन्तर्गत दैनिक चारदेखि पाँचवटासम्म विभिन्न विषयका सत्र आयोजना गरिनेछन्।
यस्ता प्याभिलियनमार्फत विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय सरोकारवालाको ध्यान आकर्षित गरी जलवायु परिवर्तन, वातावरण संरक्षण र जलवायुजन्य समस्याबारे छलफल तथा परामर्श गर्ने अभ्यास रहिआएको छ।










Discussion about this post