काठमाडौँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्न लागेको जनाएको हो।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २ दशमलव ५ ग्रामको एक थान सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अङ्कित चाँदीका सिक्का बढीमा दुई थानसम्म खरिद गर्न सकिनेछ।
सिक्का तथा असर्फी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिनेछ।
खरिद गर्न चाहने सेवाग्राहीले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन तथा चाँदीका सिक्काको मूल्य प्रचलित बजार मूल्यभन्दा केही बढी पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।










Discussion about this post