तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र कारोबार बढेको छ। यस वर्ष करिब ४५ लाख फूलमाला उत्पादन हुने अनुमान गरिए पनि काठमाडौंमा बिक्रीस्थलको टुंगो नलाग्दा बजार व्यवस्थापनमा अन्योल देखिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मखमली फूलमा नेपाल आत्मनिर्भर छ भने सयपत्रीको आन्तरिक उत्पादनले पनि मागको ठूलो हिस्सा धान्न सक्छ। तर अघिल्लो वर्षजस्तै फूलको अभाव र मूल्यवृद्धि दोहोरिने चिन्ता उपभोक्तामा देखिएको छ।

पुष्प व्यवसायको कारोबार चालु आर्थिक वर्षमा तीन अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान छ। तर भन्सार विभागका अनुसार पुष्प तथा पुष्पजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा १०५ दशमलव ६६ प्रतिशतले बढेर २६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। निर्यात भने घटेको छ।
यस वर्ष एक मिटर लामो सयपत्री मालाको खुद्रा मूल्य अधिकतम १५० रुपैयाँ निर्धारण गरिएको छ भने मखमली मालाको मूल्य ८० देखि ९० रुपैयाँसम्म रहने बताइएको छ।
व्यवसायीले स्वदेशी उत्पादन पर्याप्त भए पनि बिक्रीस्थल र बजार व्यवस्थापन प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।
यसैबीच, १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा आयोजना हुँदैछ। प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूलबिरुवा राखिने आयोजकले जनाएको छ।










Discussion about this post