काठमाडौं । अब नागरिकताको प्रतिलिपि देशभरका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने भएको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार सेवाग्राहीले आफूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको हो।
नागरिकताको प्रमाणपत्र हराएमा, जलेर वा भिजेर नष्ट भएमा, च्यातिएमा वा अन्य कारणले प्रतिलिपि आवश्यक परेमा यो सेवा लिन सकिनेछ।

गृह मन्त्रालयको परिपत्रअनुसार काठमाडौं उपत्यकामा भने प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा पाउनेछन्। ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेका विवरण मिलेमा प्रतिलिपि सहजै जारी गरिनेछ।
तर, अभिलेखमा विवरण नमिलेमा, नाम, थर वा जन्ममिति सच्याउनुपर्ने भएमा वा आवेदन शंकास्पद देखिएमा नागरिकता जारी भएको साविककै जिल्लामा सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।










Discussion about this post