काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा आजदेखि देखिने भएको छ। मौसमविद्का अनुसार आज देशका अधिकांश स्थानमा बादल लाग्ने र बिहीबारदेखि शनिबारसम्म विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै लामो दूरीको यात्रा तथा पदयात्रा नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। किसानलाई पाकेको धान काटिसकेको भए भित्र्याउन र खेतमै रहेको धान मौसम खुलेपछि मात्र काट्न सुझाव दिइएको छ।
भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको तीव्रता नेपाल आइपुग्दा घट्ने अनुमान गरिए पनि यसले वर्षा र हिमपात गराउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।










Discussion about this post