काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से ४.३४ अंकले घटेको थियो।
मंगलबार ३६० वटा स्क्रिप्सका १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो कारोबार रकम सोमबारको तुलनामा बढी हो।
बेनी हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य १२.०९ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावरको २४ करोड, सानिमा मिडल तमोर हाइड्रोपावरको २१ करोड तथा लिबर्टी इनर्जी र ग्रीन भेन्चर्सको १९/१९ करोड रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये १३५ वटाको सेयर मूल्य बढ्दा १३६ वटाको घटेको छ भने ८ वटाको मूल्य स्थिर रहेको छ। उपसूचकतर्फ हाइड्रोपावर, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहमा वृद्धि भएको छ भने बाँकी समूहका उपसूचक घटेका छन्।










Discussion about this post