काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत् निर्यातबाट प्राप्त आम्दानी बढेको प्राधिकरणले जनाएको छ।
विद्युत् प्रणाली सञ्चालन विभागको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत् निर्यात गरिएको हो। हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार तथा बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि शुक्रबार साँझदेखि पुनः सुरु भएको छ। भदौ १० गतेको बाढीले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो।
प्राधिकरणका अनुसार बाढीका कारण केही आयोजनाको उत्पादन प्रभावित हुँदा भारततर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको छ।










Discussion about this post