काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैं आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको रात महालक्ष्मीले पृथ्वी भ्रमण गरी जाग्राम बसेका भक्तजनलाई धन, ऐश्वर्य र समृद्धिको आशीर्वाद दिने विश्वास गरिन्छ। यस दिन महालक्ष्मीसँगै इन्द्रको पनि पूजा गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजै शास्त्रअनुसार अखिल बलिपूर्तिको कार्य सम्पन्न गरिन्छ। साथै, विजयादशमीदेखि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने १५ दिन लामो क्रम पनि आजबाट समाप्त हुन्छ।

आज दसैंघरमा राखिएका फूलप्रसाद र जमराका अवशेष नदी, तलाउ वा पोखरीजस्ता पवित्र स्थलमा विसर्जन गर्ने चलन छ।
कोजाग्रत पूर्णिमापछि भोलिदेखि कात्तिक स्नान, तुलसीको विशेष पूजा र आकाशदीप दान सुरु हुने धार्मिक परम्परा रहेको छ। यस दिनलाई बडादसैंको समापन र तिहारको आगमनको संकेतका रूपमा पनि लिइन्छ।










Discussion about this post