काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले बायाँहाते ब्याटर मिलरलाई टोलीमा अनुबन्ध गरेको औपचारिक जानकारी दिएको छ।
कर्णाली याक्सले समर्थकको चाहनाअनुसार अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडी भित्र्याउन सफल भएको जनाएको छ। मिलरको आगमनले टोलीको प्रदर्शन बलियो हुने र प्रतियोगितामार्फत नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने क्लबको विश्वास छ। यसअघि भारतीय क्रिकेटर शिखर धवनले पनि कर्णाली याक्सबाट खेलेका थिए।
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगजस्ता चर्चित फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। सन् २०१७ मा बंगलादेशविरुद्धको खेलमा उनले मात्र ३५ बलमा शतक पूरा गरेका थिए।
कर्णाली याक्सले यस संस्करणका लागि पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, अलराउन्डर हुसेन तलत तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ।
अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिताले एनपीएलको प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।










Discussion about this post