काठमाडौं — गणतन्त्र कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा. डा. संगम श्रेष्ठले नेपाल र कोरियाबीच प्रविधि, उत्पादन, लगानी तथा जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने योजना अघि सारेका छन्।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा र उत्पादन प्रणालीसँग जोड्न ‘नेपाल–कोरिया नवप्रवर्तन सेतु’ निर्माण गर्ने बताए।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) र भू–स्थानिक तथ्यांकको प्रयोगमार्फत विपद् पूर्वसूचना, पानी व्यवस्थापन तथा तथ्यांकमा आधारित निर्माणका नमुना कार्यक्रम विकास गरिनेछ।
कोरियामा अध्ययन र रोजगारीका लागि जाने नेपालीलाई व्यक्तिगत अवसरमा मात्र सीमित नराखी देशको दीर्घकालीन मानव पुँजी विकासमा योगदान पुर्याउने वातावरण बनाउन पहल गरिने पनि श्रेष्ठले बताए। यसका लागि विद्यार्थी र ईपीएस श्रमिकलाई प्रमाणित विश्वविद्यालयसम्बन्धी सूचना, भिसा नियम, भाषा तयारी तथा व्यावसायिक सुरक्षाबारे अभिमुखीकरण उपलब्ध गराउने उनको योजना छ।
श्रेष्ठले पहिलो वर्षमा एकीकृत मुद्दा तथा कोरियाली भाषामा लगानी र पर्यटनसम्बन्धी सामग्री प्रकाशन गर्ने, दोस्रो वर्षमा नेपाल–कोरिया व्यवसाय गोलमेच सम्मेलन आयोजना गर्ने तथा तेस्रो र चौथो वर्षमा प्रत्यक्ष वैदेशिक लगानीका परियोजना अघि बढाउने कार्ययोजना प्रस्तुत गरेका छन्।
उनको योजनाले नेपाल–कोरिया सम्बन्धलाई प्रविधि हस्तान्तरण, आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन र रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ।










Discussion about this post